शारजहामा नेपालले वेस्ट इन्डिजलाई हराउँदै ऐतिहासिक जित

झापा/ नेपालले युनिटी टी–२० आई सिरिजको पहिलो खेलमा दुई पटकको विश्व विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ।

यस खेलमा कप्तान रोहित पौडेल प्लेयर अफ द म्याच घोषित भए। उनले ३५ बलमा ३ चौका र १ छक्कासहित ३८ रन बनाउनुका साथै १ विकेट पनि लिन सफल भए। १२ रनमै २ विकेट गुमाएको अवस्थामा पौडेल र कुशल मल्लबीच भएको ५८ रनको साझेदारी जितका लागि महत्वपूर्ण रह्यो।

अवार्ड प्राप्त गरेपछि कप्तान पौडेलले यो जित र पुरस्कार हालैको ‘जेन जी आन्दोलन’ मा प्राण गुमाएका सहिदलाई समर्पण गरेका छन्। उनले पछिल्लो महिना नेपालका लागि कठिन समय रहेको स्मरण गर्दै टिमले यस जितमार्फत केही खुसी दिन सकेको बताए।

जितपछि पौडेलले बलिङतर्फ करण केसी र सोमपाल कामीको अनुभव, स्पिनरहरूको प्रदर्शन तथा कुशल भुर्तेलको योगदानको प्रशंसा गरे। साथै, शारजाह स्टेडियममा पुगेका समर्थकलाई विशेष धन्यवाद दिँदै यसलाई नयाँ यात्राको सुरुवातको संज्ञा दिए।