बिर्तामोड नेकपा (एमाले) झापाले हालको अन्तरिम सरकारले चाल्ने कदम र निर्णयहरूले समाजमा आतंक र अविश्वास फैलिएको भन्दै सरकारलाई सार्वजनिक रूपमा ध्यानाकर्षण गराएको छ। पार्टीले आज जारी गरेको विज्ञप्ति मार्फत फागुन २१ मा हुनुपर्ने निर्वाचनका लागि विश्वासको वातावरण तयार पार्न सरकारले बाधक भूमिका खेलेको आरोप लगाएको छ।

विज्ञप्तिमा, हालैका आन्दोलनका क्रममा केही शक्तिहरूले घुसपैठ गरी हिंसा र असामजिक गतिविधि बढाएको र त्यसले देशले असाधारण क्षति भोग्नु परेको उल्लेख गरिएको छ। झापा एमालेले आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
पार्टी अध्यक्ष प्रेम गिरि हस्ताक्षरित विज्ञप्तिमा उठाइएका मुख्य ६ बुँदा यसप्रकार छन्
१) भदौ २३ गते युवा पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनमा कसरी घुसपैठ हुन पुग्यो र करिब डेढ दर्जन होनहार सपुतहरूको मृत्यु हुन पुगेको हो यसबारे निष्पक्ष छानबिन हुनुपर्छ।
२) एमालेले आफूहरू विदेशी दलालका झोले नभई मातृभूमिको रक्षाका लागि संघर्षरत योद्धा भएको दाबी गरेको छ र लोकतान्त्रिक व्यवस्था र संविधानका पहरेदारहरूलाई तर्साउन खोज्नुलाई गृहमन्त्रीको ठुलो भूल हुने चेतावनी दिएको छ।
३) केपी ओली सरकारको बहिर्गमनपछिका घटनाहरू (भदौ २४ बमोजिम) मा नागरिक र सुरक्षाकर्मीको मृत्यु, सरकारी भवनमा आगजनी, तोडफोड, लुटपाट र विभिन्न संस्थागत विध्वंस कसको नियतबाट भएको हो त्यसमाथि तथ्यगत तथा आधिकारिक पुष्टि सरकारले गर्नुपर्छ।
४) सरकारले घटनाको निष्पक्ष छानबिनको सट्टा सूचना मेटाउने, लोकतान्त्रिक नेताहरूमाथि मनोवैज्ञानिक आक्रमण गर्ने र प्रहरीको कर्तव्यलाई अपहरण गर्ने आदेश जारी गरेकोप्रति एमालेले आपत्ति जनाएको छ र त्यसको जिम्मेवारी सोध्ने संकेत दिएको छ।
५) माननीय गौरीबहादुर कार्की आयोगले सत्यतथ्य खुलाउने विश्वास लिएको भए पनि सो आयोगसँग सम्बन्धित कतिपय लेखन र पूर्वतयारीका प्रमाण सार्वजनिक भएको भन्दै तत्काल छानबिन सुरु गर्न पार्टीले आग्रह गरेको छ। आयोगको काम ढाकछोप र देशभित्र कसैलाई स्थान दिने प्रयत्न हुन नदिन पनि जोड दिइएको छ।
६) एमालेले आफूहरू भ्रष्टाचारविरुद्ध भएको दाबी गर्दै अहिलेका मन्त्रीहरूको सम्पत्तिविवरण सार्वजनिक गर्न र सबै आरोपहरूको निष्पक्ष छानबिन गर्न दबाब दिएको छ।
विज्ञप्तिमा फाल्गुण २१ मा निर्वाचन गर्ने जिम्मेवारी पाएको सरकारले विश्वासिलो वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ।