झापा, असोज १७ / झापाको भद्रपुरमा सवारी दुर्घटनामा घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ।

भद्रपुर नगरपालिका–४ तारानगरस्थित भित्री सडकखण्डमा असोज ८ गते साँझ ६:५५ बजे भएको दुर्घटनामा स्थानीय समिर रायमाझीकी ४ वर्षीया छोरी इन्दु रायमाझी घाइते भएकी थिइन्।
भद्रपुरबाट तारानगरतर्फ जाँदै गरेको प्रदेश १–०१–०१६ प ५४६४ नम्बरको मोटरसाइकलले सडकमा खेलिरहेको अवस्थामा इन्दुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सि अस्पतालमा भर्ना गरिएको थियो तर उपचारकै क्रममा असोज १७ गते इन्दुको मृत्यु भएको इलाका प्रहरी कार्यालय भद्रपुरले जनाएको छ।
प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।