बिर्तामोड, झापा – नगर खेलकुद विकास समिति बिर्तामोडको आयोजनामा माघ २६ गतेदेखि फागुन ५ गतेसम्म अन्तरपालिका महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। आयोजक समितिले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी र व्यवस्थापनबारे जानकारी दिएको हो।

नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीका अनुसार समितिले पहिलो पटक महिलाहरूका लागि फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिता डोमालाल राजबंशी रंगशालामा सञ्चालन हुनेछ, जसमा झापाका १० पालिकाका टिमहरू प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेता टिमले नगद रु. ३,५०,००० प्राप्त गर्नेछ भने उपविजेताले रु. १,५०,००० पाउनेछ। साथै, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष सम्मान तथा पुरस्कार प्रदान गरिने प्रचार संयोजक विशाल अग्रवालले जानकारी दिनुभयो।

नगर खेलकुद विकास समितिका सचिव विसन लिम्बूका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ३४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले महिला खेलाडी उत्पादन गर्दै खेल क्षेत्रलाई प्रवर्द्धन गर्ने नीतिअनुसार प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले महिला खेलाडीहरूको सीप तथा क्षमताको विकासमा ध्यान दिनुपर्ने बेला आएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले खेलाडीहरूलाई थप हौसला दिने विश्वास व्यक्त गर्नुभयो।
स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्दै आपसी सद्भाव र खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताले महिला फुटबललाई लोकप्रिय बनाउने अपेक्षा गरिएको छ। खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहने विश्वास लिइएको छ।