बिर्तामोड–६ मा वेवारिसे अवस्थामा इन्सास हतियार फेला

झापा, कात्तिक १९ ।

झापाको बिर्तामोड नगरपालिका–६ सुगम शान्ति टोलस्थित तोरीवारी नजिक सिमल तरुलको झाडीभित्र वेवारिसे अवस्थामा एक थान इन्सास हतियार फेला परेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनका अनुसार आज साँझ करिब ४:४५ बजे फेला परेको उक्त हतियार ०३११००८७२ नम्बरको इन्सास रायफल हो । त्यससँगै एक थान म्याग्जिन, १९ राउण्ड सावुत र २ राउण्ड वेसावुत गोली समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त हतियार जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनबाट लुटिएको थियो । फेला परेको हतियारलाई प्रहरीले नियन्त्रणमा लिएर इप्रका अनारमनीमा राखेको छ ।

इप्रका दमक र बिर्तामोडबाट लुटिएका अझै २२ नाल भेटिन बांकि रहेको  प्रहरीले जनाएको छ भने भेटिएको यो हतियारको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।