झापामा प्रहरीमाथि आक्रमण गर्ने नवराज राई भक्तपुरबाट पक्राउ

झापा । जेन्जी आन्दोलनको क्रममा प्रहरीमाथि आक्रमण गरी फरार रहेका झापा बिर्तामोड–५ का २६ वर्षीय नवराज राईलाई प्रहरीले पक्राउ गरेको छ ।

मिति २०८२ साल भदौ २४ गते अनारमनी प्रहरी इप्रकामा भएको तोडफोड र आक्रमणमा संलग्न भई प्रहरी विजय खड्कालाई मरणासन्न हुने गरी कुटपिटबाट गम्भीर घाइते बनाएका राई पक्राउ परेका हुन् ।

भदौ २४ गतेको घटनापछि फरार रहेका राईलाई खोजतलासको क्रममा भक्तपुर प्रहरी परिसरबाट खटिएको टोलीले मिति २०८२ साल कात्तिक २० गते साँझ करिब ६ बजे भक्तपुर एरियाबाट पक्राउ गर्न सफल भएको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका राईलाई आवश्यक अनुसन्धानका लागि झापाको अनारमनीस्थित इलाका प्रहरी कार्यालयमा ल्याइएको छ । उनलाई ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत झापाबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले हाल राईका साथमा आक्रमणमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको जनाएको छ ।