झापाको सुरुङ्गामा ग्यास लिक भएर आगलागी, एक वृद्धा गम्भीर घाइते

झापा, बिर्तामोड साउन २२
झापाको कन्काई नगरपालिका–३ सुरुङ्गामा ग्यास लिक भई आगलागी हुँदा एक वृद्धा गम्भीर घाइते भएकी छन्।

ताप्लेजुङ घर भई हाल सुरुङ्गामा डेरा गरी बस्दै आएकी ८१ वर्षीया बाटुलीमाया दाहाल बिहान ७:१५ बजेको समयमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भई आगो लाग्दा घाइते भएकी हुन्। आगलागीबाट दाहालको शरीरका विभिन्न भाग जलेको र उनी गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घटनापछि उनलाई तत्काल उपचारका लागि कन्काई नगर अस्पताल लगिएको थियो। प्राथमिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बि.एण्ड.सी. अस्पताल रिफर गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

आगलागी दाहाल डेरा गरी बसेको तल्लो कोठामा भएको थियो, जसमा रहेको दुई ओटा लो-बेड, काठको दराज, भान्साका सामान, लत्ता कपडा, अन्नपात लगायतका सबै सामग्री जलेर नष्ट भएका छन्। आगलागीबाट करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

घटना भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायब निरीक्षक सुवास ढुंगानाको कमान्डमा खटिएको टोली, स्थानीय बासिन्दा र दमकलको सहयोगमा बिहान ७:३५ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

प्रहरीका अनुसार आगलागीको कारण पूर्ण रूपमा ग्यास लिक नै मानिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।