ढडुवा युवा क्लब परिवारको रक्तदान कार्यक्रम ३५ जनाले गरे 

झापा । “रगतदानले बचाउँछ जीवन” भन्ने भावनासहित हल्दिबारी गाउँपालिका–३ मा ढडुवा युवा क्लब परिवारले आयोजना गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सामुदायिक सेवा र मानवताप्रति समर्पित उद्देश्यका साथ गरिएको उक्त कार्यक्रममा स्थानीय संघ–संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो।

हल्दिबारी वडा नं.–३ का वडा अध्यक्ष विष्णु प्रसाद ओलीको प्रमुख आतिथ्यतामा सुरु गरिएको कार्यक्रममा रेडक्रस जलथलका अध्यक्ष रेम खरेल, रेडक्रस हल्दिबारीका सचिव कृष्ण प्रसाई, रातमाटे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जनक तामाङ, जेसिज हल्दिबारीकी अध्यक्ष युनिता दवाडी, ढडुवा बजार व्यवस्थापन समितिकी उपाध्यक्ष तुलसा आचार्य लगायतका सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो  ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाको प्राविधिक सहयोग, वडा कार्यालयको समन्वय तथा विभिन्न क्रियाशील संघ–संस्थाहरूको सहकार्यमा सम्पन्न कार्यक्रममा ३५ जनाले रगतदान गरे। क्लबका अध्यक्ष कुलबहादुर न्यौपानेका अनुसार, रक्तदान कार्यक्रम क्लबको नियमित सामाजिक अभियन्ता रूपमा अघि बढाइने योजनाको एउटा हिस्सा हो, जसको उद्देश्य समाजमा सहयोग र मानवताको भावना फैलाउनु हो।

लामो भाषण वा औपचारिकता बिना सम्पन्न गरिएको यस रक्तदान कार्यक्रममा स्थानीय युवाहरूको जोश र सहभागिता उल्लेखनीय रह्यो। सहभागीहरूले ढडुवा क्षेत्रमा यस्ता सेवा–मुखी कार्यहरूले सामाजिक एकता र सहकार्यको नयाँ प्रेरणा दिएको बताए।

कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष कुलबहादुर न्यौपानेले गर्नुभयो भने सञ्चालन र सहजीकरण क्लबका सचिव अभिषेक खतिवडाले गर्नुभयो।