वीरता जेसीज र पत्रकार बीच मैत्रीपूर्ण फुटसल खेल १२-४ अन्तर 

झापा वीरता जेसीजको आयोजनामा जेसीज सप्ताह अन्तर्गत पत्रकार र वीरता जेसीजबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । मैत्रीपूर्ण वातावरणमा सम्पन्न खेलमा आयोजक वीरता जेसीज १२–४ गोलअन्तरले विजयी बनेको छ ।

कार्यक्रमको अध्यक्षता वीरता जेसीजका अध्यक्ष युवराज कुँवरले गरेका थिए । कार्यक्रममा झापा गोल्डकपका संस्थापक अध्यक्ष जलकुमार गुरुङ प्रमुख अतिथि थिए भने वीरता जेसीजका खेलकुद संयोजक विवेक खड्काले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव विज्ञानराज पौडेलले गरेका थिए ।

यता जेसीज आस्था अमरजीत साहले गरेका थिए । उनी वीरता जेसीजका कानुनी सल्लाहकार हुन् ।

कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले शुभकामना मन्तव्य राखेका थिए ।

फुटसल कार्यक्रममा नेपाल पत्रकार महासंघ तेह्रथुमका निर्वतमान अध्यक्ष अमृत वास्तोला, वीरता जेसीजका पूर्व अध्यक्ष सजेश शिवाकोटी,पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल , अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन धिमाल, गमस्त स्पोट्र्स हवका सञ्चालक विजय कार्की, झापा कपका सचिव सीएम खनाल  लगायत सहभागी थिए । 

मैत्रीपूर्ण फुटसलमा वीरता जेसीजले उत्कृष्ट प्रदर्शन गर्दै १२ गोल गरेको थियो भने नेपाल पत्रकार महासंघ झापाले ४ गोल फर्काएको थियो ।खेलमा ‘प्लेयर अफ द म्याच’ पत्रकार प्रदीप परियार घोषित भए । उनी नेपाल पत्रकार महासंघ झापाका सचिव समेत हुन् । उनलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

उत्कृष्ट गोलकिपरको उपाधि वीरता जेसीजका ध्रुव भण्डारीले हात पारे । उनलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

यता विजेता टिम बनेको वीरता जेसीजलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो भने उपविजेता नेपाल पत्रकार महासंघ झापालाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

जेसीज सप्ताहअन्तर्गत यो छैठौं कार्यक्रम भएको आयोजकले जनाएको छ । जेसीज सप्ताह गत कात्तिक २८ गतेबाट सुरु भएको थियो ।