हाम्रो नेपाल साकोसद्वारा नवज्योति विद्यालयका २८ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बिर्तामोड (झापा)। झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत इलामको सूर्योदय नगरपालिका–७ स्थित नवज्योति आधारभूत विद्यालयका २८ जना छात्रछात्रालाई स्कुल ब्याग प्रदान गरेको छ।

मंसिर ७ गते विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा बालकक्षा देखि कक्षा पाँचसम्म अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो।

वितरण कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद गौतमले सहकारी संस्थाले सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै शिक्षा क्षेत्रको विकासका लागि योगदान गर्दै आएको बताउनुभयो। उहाँका अनुसार सहकारी संस्था समाजप्रति उत्तरदायी रहँदै आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिनेछ।

कार्यक्रममा प्रधानाध्यापक ज्योति न्यौपानेले सहकारी संस्थाको सहयोगले विद्यार्थीहरूलाई अध्ययनमा थप प्रोत्साहन प्राप्त हुने उल्लेख गर्नुभयो।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेयरमान खड्का, हर्कटे सेवाकेन्द्र सञ्चालन उपसमितिका संयोजक कुल प्रसाद पौडेल, जनप्रतिनिधि भानु प्रकाश खड्कालगायतले शैक्षिक सहयोगले बालबालिकाको भविष्य निर्माणमा सकारात्मक प्रभाव पार्ने धारणा राख्नुभयो।

संस्थाका व्यवस्थापक सरोज दाहालले सहकारीले विगतदेखि नै सामाजिक कार्यमा सक्रिय रहेको र आगामी दिनहरूमा पनि शिक्षा तथा सामुदायिक विकासका कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो।

कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक बुद्ध छिरिङ लाप्चाले गर्नुभएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, शिक्षक तथा सहकारी संस्थाका कर्मचारीहरूको उपस्थिती उल्लेखनीय थियो।

शैक्षिक सामग्री सहयोग प्राप्त नवज्योति आधारभूत विद्यालयमा लोपोन्मुख लेप्चा समुदायका बालबालिका समेत अध्ययनरतछन्, जसले समुदाय केन्द्रित सहकार्यलाई अझ अर्थपूर्ण बनाएको छ।