क्रिसमस डे मनाइँदै मुक्ती प्रेम र शान्तिको सन्देशसहित देशभर मनाइदै

झापा बिर्तामोड । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ विविध कार्यक्रमका साथ मनाउँदैछन्।

विश्वासअनुसार आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा कुमारी मरियमबाट पवित्र आत्माको शक्तिबाट येशु ख्रीष्टको जन्म भएको थियो। येशु ख्रीष्टले मानवजातिलाई मुक्ति, प्रेम र शान्तिको सन्देश दिनुभएको विश्वासका साथ क्रिश्चियन समुदायले यस दिनलाई विशेष अर्थका साथ मनाउने गरेका छन्।

नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार येशु ख्रीष्टले मानव जीवनलाई तीन महत्वपूर्ण उपहार मुक्ति, प्रेम र शान्ति दिएकाले क्रिसमस डे यी तीनवटै दिवसका रूपमा मनाइने गरिएको हो। उहाँका अनुसार मानिसलाई प्रेम गर्न सिकाउन आएकाले प्रेम दिवस, समाजमा शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र पापबाट मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा क्रिसमस मनाइन्छ।

नेपालमा विसं २०६३ पछि नेपाल ख्रिष्टियन महासङ्घले क्रिसमसलाई महोत्सवका रूपमा मनाउन थालेको महासङ्घले जनाएको छ। महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो ‘क्रिसमस महोत्सव २०८२’ आयोजना गरिएको छ। कार्यक्रममा सरकारका प्रतिनिधि, सरोकारवाला निकायका अधिकारी, मानव अधिकारकर्मी लगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले जानकारी दिनुभयो।

क्रिसमस डेका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइँदै आएको थियो। विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो। विसं २०७८ देखि पुनः सबै नागरिकका लागि सार्वजनिक बिदा दिइँदै आएको छ।

पछिल्लो समय नेपालका प्रमुख सहरका चोकचौराहा र बजार क्षेत्रहरू क्रिसमस ‘ट्रि’ र सजावटले झकिझकाउ हुने गरेका छन्। विशेषगरी पर्यटकको आवागमन बढी हुने ठमेल, बौद्ध, पोखरा, सौराहा , झापा लगायतका शहरी क्षेत्रहरूमा क्रिसमसको विषेश रौनक रहेको देखिन्छ।

नेपाल ख्रिष्टियन महासङ्घको दाबीअनुसार हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च सञ्चालनमा छन्।