तोयानाथ दाहाललाइ उत्कृष्ट बीमा अभिकर्ताको रुपमा डायमण्ड क्लबको उपाधि

बिर्तामोड । झापाको बिर्तामोडका तोयानाथ दाहालले उत्कृष्ट बीमा अभिकर्ताको रुपमा डायमण्ड क्लबको उपाधि हात पार्नुभएको छ ।

झापाको बिर्तामोड नगरपालिका–५, पाथिभारा टोल निवासी दाहालले विश्वका बीमा अभिकर्ताहरूको सर्वोच्च अन्तर्राष्ट्रिय संस्था MDRT (Million Dollar Round Table) 2026 मा क्वालिफाइ गर्नुका साथै डायमण्ड क्लब विजेताको उपाधि हात पार्नुभएको हो ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, चन्द्रगढी शाखामा एजेन्सी म्यानेजरका रूपमा कार्यरत दाहालको यो उपलब्धिलाई बीमा क्षेत्रमा उल्लेखनीय सफलता मानिएको छ। लामो समय वैदेशिक रोजगारीमा बिताएर नेपाल फर्किनुभएका दाहालले २०७५ सालमा बीमा अभिकर्ताका रूपमा करियर सुरु गर्नुभएको थियो। बीमा क्षेत्रमा प्रवेश गरेको सात वर्षको छोटो अवधिमै अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित MDRT सम्म पुग्न सफल हुनु उहाँको निरन्तर मेहनत, अनुशासन, ग्राहकप्रतिको विश्वास र नेतृत्व क्षमताको परिणाम रहेको शाखाले जनाएको छ।

दाहालको यस सफलताले केवल व्यक्तिगत उपलब्धि मात्र नभई सिटिजन लाइफ चन्द्रगढी शाखा तथा सम्पूर्ण अभिकर्ता टिमका लागि प्रेरणाको स्रोत बनेको जनाइएको छ। शाखा परिवारले उहाँको सफलताप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा अझ उच्च उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेको छ।