२७ पुष, बिर्तामोड। कोशी प्रदेशका निवर्तमान खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले आफ्नो १९ महिने कार्यकाललाई प्रदेश विकासको बलियो आधारशिला भएको बताएका छन्। उनले मन्त्रालयले पूँजीगत खर्चमा नमूना काम गरेको दाबी गर्दै आर्थिक वर्ष २०८०/८१ मा ९१ प्रतिशत र २०८१/८२ मा ९४.७ प्रतिशत खर्च भएको उल्लेख गरे।

उनले तराईमा सिँचाइ समस्या समाधानका लागि ८११ वटा स्यालो ट्युवेल बोरिङ जडान गरिएको, एडीबीको सहयोगमा २९ ठूला सिँचाइ आयोजना सुरु गरिएको र ऊर्जा क्षेत्रमा ‘सोलार टप क्यानल’ जस्ता नवीन कार्यक्रम अघि बढाइएको बताए। कन्काई सिँचाइ आयोजनामा सोलार प्रणाली अन्तिम चरणमा पुगेको र भद्रपुर प्रादेशिक अस्पतालमा सोलार नेट मिटरिङबाट मासिक लाखौं रुपैयाँ बचत भएको उनले जानकारी दिए।
कार्कीले ‘कोशी प्रदेश खानेपानी ऐन’ निर्माणलाई आफ्नो प्रमुख नीतिगत उपलब्धि बताए, जसले उपभोक्ताको लगानी २० प्रतिशतबाट १ प्रतिशतमा झारेको छ। संघीयता कार्यान्वयनमा कर्मचारी र प्रहरी समायोजन नहुनु चुनौती रहेको उल्लेख गर्दै उनले मन्त्रालयलाई सही दिशामा अघि बढाइएको दाबी गरे।