चारआली । झापा चारआली जेसीजको १३ औं साधारण सभा तथा १२ औं शाखा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले वर्ष २०२६ का लागि सञ्जय निरौलाको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
“शाखा एक खुड्किलो अझ मजबुत” भन्ने सङ्कल्पका साथ चयन भएको नयाँ कार्यसमितिको कार्यकारी उपाध्यक्षमा निशान गौतम र नवीन खतिवडा निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्ष पदमा कैलाश रेग्मी, ईश्वर रिजाल, रविन खतिवडा र रोशन पौडेल चयन भएका छन् ।
वर्ष २०२५ का अध्यक्ष सुजुप सुवेदीको अध्यक्षतामा सम्पन्न सो अधिवेशनमा शाखाको सफल नेतृत्व गरेका सुवेदी नेपाल जेसीजको वर्ष २०२६ का लागि ‘राष्ट्रिय कोषाध्यक्ष’ पदमा मनोनीत भएको बधाई ज्ञापन कार्यक्रम समेत आयोजना गरिएको थियो ।

नयाँ कार्यसमितिका लागि आगामी वर्ष थप जिम्मेवारीपूर्ण रहने देखिएको छ । चारआली जेसीजले वर्ष २०२६ मा ‘क्षेत्र क’ को क्षेत्रीय सम्मेलन आतिथ्यता गर्ने अवसर प्राप्त गरेको छ । नव-निर्वाचित अध्यक्ष निरौलाले आफ्नो कार्यकालमा क्षेत्रीय सम्मेलनलाई ऐतिहासिक बनाउने र शाखाको गरिमालाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जेसीजका पूर्व अध्यक्षहरू, पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो । नवनिर्वाचित टिमलाई बधाई दिँदै निवर्तमान नेतृत्वले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।