काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा प्रतिनिधि सभाकी पूर्व सदस्य तोशिमा कार्कीले समानुपातिक सांसद प्रणालीको प्रयोगबारे आफ्नै पार्टी र त्यसका पदाधिकारी तथा सचिवालय सदस्यहरूविरुद्ध कडा प्रश्न उठाएकी छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै कार्कीले समानुपातिक प्रणाली भौगोलिक विकटता, पहुँच नपुगेका तथा सीमान्तकृत समुदायको प्रतिनिधित्वका लागि ल्याइएको भए पनि व्यवहारमा पार्टी नेतृत्व र केन्द्रमा बसेकाहरूले आफ्नो पद सुरक्षित गर्न प्रयोग गरिरहेको आरोप लगाएकी छन्।
उनले रास्वपाभित्रै पदाधिकारी, सचिवालय सदस्य तथा प्रभावशाली व्यक्तिहरू समानुपातिक सूचीमार्फत संसद पुग्न खोज्नु प्रणालीको मर्मविपरीत भएको उल्लेख गरेकी छन्। “पार्टी ठूलो भइसकेपछि पनि प्रत्यक्ष चुनाव लड्न डराउनुपर्ने अवस्था किन आयो ?” भन्दै उनले आफ्नै पार्टी नेतृत्वलाई प्रश्न गरेकी छन्।
कार्कीले प्राइमरी भोटिङ वा इभ्यालुएसनको नाममा समानुपातिक सूची सुरक्षित गर्ने अभ्यास पुराना दलहरूभन्दा फरक नदेखिएको टिप्पणी गरेकी छन्। उनले यदि पार्टी साँचै उदाहरणीय राजनीति गर्न चाहन्छ भने पदाधिकारी र सचिवालय सदस्यहरूले समानुपातिक सूचीबाट आफ्नो नाम हटाएर प्रत्यक्ष निर्वाचन लड्नुपर्ने धारणा राखेकी छन्।
उनको भनाइमा समानुपातिक प्रणाली समावेशीकरणका लागि आवश्यक भए पनि पार्टीभित्रै त्यसको दुरुपयोग भइरहे त्यसको औचित्यमाथि गम्भीर प्रश्न उठ्ने स्पष्ट छ। साथै उनले समानुपातिक सूचीमा आफन्तवाद र नातावादलाई पूर्ण रूपमा निषेध गर्नुपर्ने मागसमेत गरेकी छन्।