झापा , बिर्तामोड । अर्जुनधारा नगरपालिका वडा नम्बर ७ लाई वडा नम्बर ४ र १ सँग जोड्ने सनिश्चरे–खुदुनाबारी सडकखण्ड अन्तर्गत पर्ने विरिङ खोलामा भाच्चिएको पुल पुनर्निर्माणका लागि ३५ करोड रुपैयाँ बजेट स्वीकृत भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुल पुनर्निर्माणका लागि बजेट सुनिश्चित गर्दै ठेक्का प्रक्रिया तत्काल अगाडि बढाइने जानकारी दिएको छ।

लामो समयदेखि जीर्ण अवस्थामा रहेको उक्त पुल भाच्चिएपछि अर्जुनधारा नगरपालिका क्षेत्रका स्थानीयवासीहरू, विद्यार्थी, व्यापारी तथा यात्रुहरूलाई आवतजावतमा गम्भीर समस्या हुँदै आएको थियो। पुल पुनर्निर्माण नहुँदा सनिश्चरे–खुदुनाबारी सडकखण्ड पूर्ण रूपमा प्रभावित बनेको थियो।
यस बहुप्रतीक्षित योजनालाई टुंगोमा पुर्याउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सुरुदेखि नै उच्च प्राथमिकताका साथ पहल गर्दै आउनुभएको थियो। आवश्यक बजेट सुनिश्चित गराउन मन्त्रालयस्तरमा निरन्तर दबाब र समन्वय गर्दै कुनै पनि कदम चाल्न पछि नपर्ने प्रतिबद्धताकै कारण योजना स्वीकृत भई ठेक्का प्रक्रियामा प्रवेश गरेको बताइएको छ।
सभामुख घिमिरेसंग अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव सिंह गोम्देन तामाङले पनि उक्त पुल पुनर्निर्माणका लागि निरन्तर पहल गर्दै आउनुभएको थियो। नगरपालिकाले स्थानीय तहबाट गर्नु पर्ने आवश्यक सहयोग, तथ्यांक संकलन र समस्या पहिचानमा सक्रिय भूमिका निर्वाह गरेको छ।
त्यसैगरी नेकपा एमाले झापा जिल्ला अध्यक्ष प्रेम बहादुर गिरी, नवनियुक्त कोशी प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री चिन्तन पाठक, अर्जुनधारा नगर उपप्रमुख खड्गमाया पराजुली, नगरपालिकाभित्रका वडाध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा स्थानीय अगुवाहरूको सामूहिक चासो र दबाबका कारण योजना अघि बढ्न सफल भएको सभामुखका स्वकीय सचिव केशब ढुंगेलले जानकारी दिनुभयो।
पुल पुनर्निर्माणपछि अर्जुनधारा नगरपालिका भित्रका वडा नम्बर १, ४ र ७ का साथै आसपासका क्षेत्रका बासिन्दाहरूलाई सहज आवागमनको सुविधा मिल्नेछ भने स्थानीय व्यापार, शिक्षा, स्वास्थ्य सेवा र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
स्थानीयवासीहरूले लामो समयदेखि माग गर्दै आएको पुल पुनर्निर्माणको काम अब छिट्टै सुरु हुने विश्वास व्यक्त गर्दै सम्बन्धित सबै निकाय र जनप्रतिनिधिहरूप्रति आभार प्रकट गरेका छन्।

