कचनकवलमा २ सय हेक्टर जमिन सिञ्चित हुने गरी डिप ट्युबवेल आयोजनाको समुद्घाटन  

​झापा ,बिर्तामोड झापाको कचनकवल गाउँपालिका-७, तारावनमा निर्माण गरिएको कचनकवल डिप ट्युबवेल सिँचाइ आयोजनाको एक विशेष समारोहका बीच समुद्घाटन गरिएको छ। कोशी प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तर्गतको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन, विराटनगरको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो।

​कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री माननीय तिलचन पाठकले रिवन काटेर र सिँचाइ प्रणालीको पानी सञ्चालन गरेर आयोजनाको औपचारिक समुद्घाटन गर्नुभयो। उद्घाटन पश्चात् सम्बोधन गर्दै मन्त्री पाठकले कृषि क्षेत्रको विकासका लागि सिँचाइ मेरुदण्ड रहेको र यस आयोजनाले स्थानीय किसानहरूको आर्थिक स्तर उकास्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

​शिवशक्ति जल उपभोक्ता समिति, कचनकवल-७ का अध्यक्ष चेतराज भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विशिष्ठ अतिथिका रूपमा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका सचिव पुस्कर पोखरेल, मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद राजवंशी, पूर्व माननीय वसन्त बानियाँ र कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईको उपस्थिति रहेको थियो।

​कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका कर्मचारी र ठूलो संख्यामा स्थानीय कृषकहरूको सहभागिता रहेको थियो। आयोजना कार्यान्वयनमा आएपछि अब बाह्रै महिना खेती गर्न सकिने भन्दै स्थानीय किसानहरूले खुसी व्यक्त गरेका छन्। 

Leave a Reply