खान अयोग्य सडेगलेका र भन्सार छलेका १४०० केजी माछा नष्ट

झापा, २०८१ माघ २८ – सशस्त्र प्रहरी बल नेपाल नं. २ गण मुख्यालय झापाले ठूलो परिमाणमा अवैध माछा नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी निरीक्षक लोकेन्द्र पोखरेलको कमान्डमा खटिएको टोलीले झापा जिल्लाको कन्काई नगरपालिका-१ जामुनखाडीस्थित पूर्व-पश्चिम लोकमार्गमा शंका लागी जाँच गर्दा अवैध रूपमा ल्याइँदै गरेको माछासहित एक गाडी नियन्त्रणमा लिएको हो।

purbeli samachar
purbeli samachar

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र. ०१-०२-००-२ च ४८४९ नम्बरको पिकअप गाडी जाँच गर्दा करिब १,४०० केजी माछा फेला परेको थियो, जसको अनुमानित बजार मूल्य ४ लाख २० हजार रुपैयाँ रहेको छ। साथै, गाडी चालक सुनसरी इनरुवा नगरपालिका-७ निवासी २४ वर्षीय दिल कुमार चौधरीलाई पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

नियन्त्रित माछा, गाडी र चालकलाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका निमित्त प्रमुख मुकेश कुमार सिंह नेतृत्वको टोलीलाई बुझाइएको थियो। त्यसपछि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी तथा पत्रकारहरूको रोहवरमा माछालाई खाल्डो खनी नष्ट गरिएको हो। गाडी र चालकलाई थप अनुसन्धानका लागि पशु क्वारेन्टाइन कार्यालय, काँकडभिट्टा लगिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज बिष्टले यसबारे जानकारी दिनुभएको छ।