झापा ,बिर्तामोड अषाढ २६ / बाह्रदशी गाउँपालिका–१ खैरबारीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको हो।

दुर्घटनामा कचनकवल गाउँपालिका–३ निवासी ६० वर्षीय श्रीप्रसाद राजबंशी र भारतको किशनगञ्ज, डिगलबैंक निवासी सुरज टुडुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मृतक राजबंशीका ७ वर्षीय नाती आयुष राजबंशीको बिएण्डसी अस्पतालमा राति ९ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
यस्तै, घाइते भएकी मृतककी बुहारी २७ वर्षीया उर्मिला राजबंशीको अवस्था गम्भीर रहेको र उनी उपचाररत रहेको जनाइएको छ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।