इलाम, ५ फागुन – खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले इलामस्थित ठ्याउरे फ्याउरे सिँचाइ आयोजनाको अनुगमन गर्दै पुनर्निर्माण कार्य छिटो सक्न निर्देशन दिएका छन्।

देउमाई खोला, माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिकाको सिमानामा पर्ने १३ किलोमिटर लम्बाइको यो आयोजना २०७९ सालमा सञ्चालनमा आएको थियो। करिब १,३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित निर्माण भएको यस योजनामा विगतका बाढीले विभिन्न ठाउँमा क्षति पुर्याएपछि पुनर्निर्माण कार्य जारी छ।
अनुगमनका क्रममा मन्त्री कार्कीले हालसम्म करिब ८ करोड रुपैयाँ बराबरको काम पूरा भइसकेको जानकारी गराउँदै कुल लागत १४ करोड रुपैयाँ रहने बताए। उनले बाँकी कामलाई तीव्रता दिँदै चाँडो सम्पन्न गर्न सिँचाइ डिभिजन र स्थानीय निकायलाई निर्देशन दिए।
अनुगमन टोलीमा मन्त्री कार्कीसँगै अर्थमन्त्री राम राणामगर, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका सचिव प्रदिप वान्तवा राई, सिँचाइ डिभिजन इलामका प्रमुख मेघराज ग्यावली, प्राविधिक टोली, सम्बन्धित वडाका वडाध्यक्षहरू र स्थानीय उपभोक्ताहरूको उपस्थिति थियो।
मन्त्री कार्कीले बाढीबाट क्षतिग्रस्त भागहरूको अवलोकन गर्दै पुनर्निर्माण कार्यलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए। उनले सिँचाइ सुविधाको सहज पहुँचले इलामको कृषि उत्पादन वृद्धि हुने र यसबाट हजारौं किसान लाभान्वित हुने विश्वास व्यक्त गरे।