साउन १ देखि आठ जटिल रोगको उपचारमा दुई लाख सम्म स्वास्थ्य मन्त्री पौडेलद्वारा घोषणा

झापा ,बिर्तामोड असाढ २४ आठ प्रकारका जटिल रोगले ग्रसित बिरामीहरूले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत दुई लाख रुपैयाँसम्मको निःशुल्क उपचार सुविधा पाउने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आफ्नो पूर्व प्रतिबद्धता अनुसार यो नयाँ व्यवस्था साउन १ गतेदेखि लागू हुने जानकारी दिएका छन्।

मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत बुधबार जानकारी दिँदै भने, “कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ यो व्यवस्था लागू गरेका हौं।”

यस योजनाअनुसार अबदेखि क्यान्सर, मुटु रोग, मृगौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर रोग भएका बिरामीहरूले पूर्ववत् एक लाखको सट्टा दुई लाख रुपैयाँसम्मको उपचार सहायता प्राप्त गर्न सक्नेछन्।

स्वास्थ्य बिमा सुधारका लागि सरकार निरन्तर प्रयत्नशील रहेको उल्लेख गर्दै मन्त्री पौडेलले बिमा प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र पहुँचयोग्य बनाउन थप सुधारका कार्यहरू अगाडि बढाइने बताए।

यस निर्णयले आर्थिक अभावका कारण जटिल रोगको उपचारबाट वञ्चित हुँदै आएका हजारौं नागरिकलाई प्रत्यक्ष राहत मिल्ने विश्वास गरिएको छ।