गर्ग फाउन्डेसन नेपालद्वारा कनकाई–५ मा महिलाका लागि कानुनी सचेतना कार्यक्रम

झापा । गर्ग फाउन्डेसन नेपालले कनकाई नगरपालिका–५ तुलसीबारी झापामा महिलाहरूका लागि एक दिने कानुनी सचेतना, द्वन्द्व व्यवस्थापन तथा उत्प्रेरणा सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

कनकाई नगरपालिका वडा नं. ५ को सभाहलमा हिजो मिति २०८२ साल चैत १६ गते सोमबार सम्पन्न सो कार्यक्रमको अध्यक्षता गर्ग फाउन्डेसन नेपालकी अध्यक्ष सचित्रा खनालले गर्नुभएको थियो । कनकाई नगरपालिकाकी उपमेयर आशा शिवाकोटीको प्रमुख आतिथ्यता तथा वडा नं. ५ का वडा अध्यक्ष कृष्ण राई, वडा सदस्य डिल्ली राम उप्रेती, वडा सदस्य सावित्रा बर्देवा, सञ्चारकर्मी भीमा शिवाकोटी लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा वडा नं. ५ का करिब ४० जना महिलाहरूको सहभागिता रहेको थियो ।

कनकाई नगरपालिका क्षेत्रमा महिला तथा घरेलु हिंसा बढिरहेको सन्दर्भमा महिलाहरूलाई सचेतना गराउने तथा कानुनी शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा उपमेयर आशा शिवाकोटीले कार्यक्रमको ब्यानर वाचन गर्दै गर्नुभएको थियो ।

सामाजिक अभियन्ता तथा सामुदायिक महिला विकास केन्द्र बिर्तामोडकी सहसचिव निशा गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा गर्ग फाउन्डेसन नेपालकी उपाध्यक्ष देविमाया भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो । उद्घाटन सत्रको समापनपछि सहजीकरण सत्र सुरु गरिएको थियो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी भीमा शिवाकोटी र अधिवक्ता टिका लामिछानेले गर्नुभएको थियो ।

कार्यक्रमका सहभागीहरूले यस्ता कार्यक्रमहरूले महिलाहरूका समस्या समाधान गर्न महत्वपूर्ण सहयोग पुग्ने तथा लैङ्गिक हिंसा विरुद्ध लड्न बल प्रदान गर्ने बताएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा उपमेयर आशा शिवाकोटीले महिलाहरूले आफूमाथि हुने हिंसाका घटनाहरूको सामना गर्न आफैं सचेत हुनुपर्ने र यस्ता सचेतनामूलक कार्यक्रमहरूले महिलाहरूलाई आन्तरिक शक्ति प्रदान गर्ने बताउनुभयो ।

उहाँले कनकाई नगरपालिकामा बढिरहेका महिला हिंसाका घटनाहरू न्यूनीकरण गर्न गर्ग फाउन्डेसन नेपाल जस्ता नागरिक संस्थाहरूको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो । वडा अध्यक्ष कृष्ण राईले यस्ता सचेतनामूलक कार्यक्रमहरू टोल–टोलसम्म पुर्‍याउनुपर्ने धारणा राख्नुभयो ।

बिहान ११ बजे सुरु भएको उक्त कार्यक्रम दिउँसो ४ बजेसम्म सञ्चालन गरिएको थियो ।

Leave a Reply