बिर्तामोड, असार १० – लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले झापाका तीन वटा जेसीज संस्थाहरू — वीरता जुनियर जेसीज बिर्तामोड, भद्रपुर जुनियर जेसीज, र धुलाबारी जुनियर जेसीजको संयुक्त आयोजनामा विशेष कार्यक्रम सञ्चालन हुने भएको छ।

“सामाजिक उत्तरदायित्वमा जूनियर जेसीज: लागू औषध विरुद्ध साइकल र्याली, वृक्षरोपण र वृहत शैक्षिक सामग्री एवं खाद्यान्न वितरण अभियान” भन्ने नाराका साथ कार्यक्रम असार १७ र १८ गते सञ्चालन गरिनेछ।
कार्यक्रमबारे निर्णय वीरता जुनियर जेसीजका अध्यक्ष अस्मित गोसाई, भद्रपुरका अध्यक्ष सनम शाशंकर, र धुलाबारीका अध्यक्ष सृजित ढुंगानाको अध्यक्षतामा गत असार ३ गते धुलाबारीस्थित पासाङ ल्हामू जेसीज प्रतिष्ठानमा बसेको संयुक्त बैठकले गरेको हो।
काँकडभिट्टा–निन्दासिरानसम्म साइकल र्याली
कोरा साइकलिङ अभियानअन्तर्गत काँकडभिट्टा नाकाबाट सुरु हुने साइकल र्याली निन्दासिरानसम्म पुग्नेछ। सहभागीहरूले लागूऔषध विरोधी सन्देशसहित साइकल र सवारीसाधनमार्फत यात्रा गर्नेछन्।
निन्दासिरानपछि सहभागीहरू करिब दुई घण्टाको ट्रेक गर्दै एक स्थानीय प्राथमिक विद्यालय पुग्नेछन्, जहाँ वृक्षरोपण र विद्यार्थीहरूलाई स्टेशनरी वितरण गरिनेछ।
खाद्यान्न वितरण र पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम
कार्यक्रमको दोस्रो दिन अति विपन्न समुदायलाई लक्षित गर्दै वृहत खाद्यान्न वितरण गरिनेछ।
त्यसैगरी Trek 8586 लगायत पर्यटन क्षेत्रमा आबद्ध व्यक्तित्वहरूसँग युवाहरूको संवाद, फेलोसिप क्याम्प तथा पर्यटन प्रवर्द्धन, गाइडिङ, ट्रेकिङ सम्बन्धी तालिम पनि दिइनेछ।
सहभागीहरूले कार्यक्रम अवधिभर टेन्टमा रात बिताउनेछन् र स्थानीय निकायका प्रतिनिधिहरूसँग पर्यटनमा युवाको भूमिका विषयमा अन्तरक्रिया गर्ने कार्यक्रमसमेत रहेको छ।
संयोजन टोली
कार्यक्रम संयोजनमा वीरता जुनियर जेसीजका सञ्चार संयोजक युनिस कार्की, भद्रपुर जुनियर जेसीजका कानुनी सल्लाहकार प्रतिक लम्साल र धुलाबारी जुनियर जेसीजका अतित गौतम रहनेछन्।

धुलाबारी जेसीजका अध्यक्ष सृजित ढुंगानाले यो अभियानले युवाहरूलाई सकारात्मक क्रियाकलापतर्फ डोऱ्याउने, लागूऔषध दुर्व्यसनबाट टाढा राख्ने र समाजमा सहकार्य, सद्भाव र मानवताको सन्देश फैलाउने विश्वास व्यक्त गरे।