बिर्तामोड, झापा । आठौं महिला अधिकार दिवसको उपलक्ष्यमा विराट सामुदायिक सिकाइ केन्द्र, विर्तामोड झापाले आज एकदिने कानूनी सचेतना तथा तनाव व्यवस्थापन सम्बन्धी तालिम कार्यक्रम आयोजना गरेको छ।

विर्तामोड नगरपालिका नगर शिक्षा कार्यालयको सहयोग तथा विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, विर्तामोड झापाको समन्वयमा सम्पन्न कार्यक्रम विराट बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा आयोजना गरिएको थियो। कार्यक्रममा ८१ जना महिलाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता विराट सामुदायिक सिकाइ केन्द्रका सदस्य तथा कार्यक्रम संयोजक अर्जुनकुमार पाठकले गर्नुभएको थियो भने विर्तामोड नगरपालिका नगर शिक्षा अधिकृत जानुका रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा सञ्चारकर्मी तथा विराट बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष भीमा शिवाकोटी, गैससकर्मी प्रदीपकुमार पुरी, अधिवक्ता तथा सहकारी संस्थाका सञ्चालक सदस्य टिका लामिछाने, सहकारीका व्यवस्थापक तेजप्रसाद पाठक, सामुदायिक महिला विकास केन्द्र विर्तामोडकी अध्यक्ष अम्बिका कार्की कटुवाललगायतको आतिथ्यता रहेको थियो।
विराट बहुउद्देश्यीय सहकारी संस्थाका ऋण शाखा प्रमुख तथा सूचना अधिकारी टिका अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा सामुदायिक महिला विकास केन्द्रकी अध्यक्ष अम्बिका कार्की कटुवालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। उद्घाटन सत्रमा सञ्चारकर्मी भीमा शिवाकोटी र प्रमुख अतिथि जानुका रेग्मीलगायतले महिला अधिकार, सशक्तीकरण तथा चेतनामूलक कार्यक्रमहरूको महत्वबारे शुभकामना मन्तव्य राख्नुभएको थियो।

उद्घाटन सत्रपछि सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रममा प्रशिक्षक प्रदीपकुमार पुरीले तनाव व्यवस्थापन सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो भने अधिवक्ता टिका लामिछानेले कानूनी सचेतना सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।
विराट सामुदायिक सिकाइ केन्द्रका संचालक सदस्य कोसिस घिमिरेका अनुसार केन्द्रले नगर शिक्षा कार्यालयको सहयोगमा यसअघि २०८३ जेठ ८ गते महिलाहरूका लागि वित्तीय साक्षरता तथा कृषकहरूका लागि धानबाली सम्बन्धी सचेतना कार्यक्रम समेत सञ्चालन गरेको थियो। समुदायमा चेतना अभिवृद्धि, क्षमता विकास तथा महिला सशक्तीकरणका यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने जनाइएको छ।