झापा, जेठ १८ । झापा इनर्जी लिमिटेडद्वारा झापाको शिवसताक्षी नगरपालिका-४ मा निर्माण भइ सञ्चालनमा रहेको सोलार प्रविधिमा आधारित १० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजनामा जडान गरिएको एक इन्भर्टरमा सोमबार दिउँसो आगलागी भएको छ।

कम्पनीका कार्यलय प्रमुख तथा संचालक सुभास भट्टराइका अनुसार आयोजनामा रहेका दुई वटा ५ एमभीए क्षमताका इन्भर्टरमध्ये एउटामा दिउँसो करिब १ः५२ बजे आगलागी भएको हो। घटनापछि उक्त इन्भर्टरमार्फत उत्पादन हुँदै आएको करिब ५ मेगावाट विद्युत् उत्पादन अस्थायी रूपमा बन्द भएको छ।
आगलागी भएको समयमा आयोजनास्थलमा स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको उपस्थिति रहेको कम्पनीले जनाएको छ। घटनाको कारणबारे कम्पनीको आन्तरिक प्राविधिक टोलीले अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अध्ययनका आधारमा इन्भर्टरको आन्तरिक प्राविधिक समस्याका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको छl
भट्टराइका अनुसार आगलागी भएको इन्भर्टरको वारेन्टी अवधि अझै बाँकी रहेकाले निर्माता तथा आपूर्तिकर्ता कम्पनीलाई घटनाबारे औपचारिक जानकारी गराइसकिएको छ। आवश्यक प्राविधिक मूल्याङ्कन तथा प्रतिस्थापनका लागि सम्बन्धित प्राविधिक टोली आयोजनास्थलतर्फ आउँदै गरेको जनाइएको छ।
झापा इनर्जीले प्रभावित इन्भर्टरलाई यथाशीघ्र प्रतिस्थापन गरी आयोजनाबाट पुनः पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु गर्ने तयारी गरिरहेको जनाएको छ। साथै, घटनाबाट उपभोक्ता, सरोकारवाला निकाय तथा स्थानीय समुदायमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना गर्दै विद्युत् उत्पादनलाई शीघ्र सामान्य अवस्थामा फर्काउन आवश्यक सबै कदम चालिरहेको बताएको छ।