किसान र व्यवसायीबीच सहमति गराउँदै बिर्तामोड ७ ले समायोजन गर्‍यो ट्र्याक्टर जोताइको दर

बिर्तामोड, झापा । खेतीपातीको मुख्य समय सुरु हुनै लाग्दा किसानलाई राहत दिने उद्देश्यले बिर्तामोड नगरपालिका–७ ले ट्र्याक्टर जोताइको दर समायोजन गरेको छ। वडा कार्यालयमा ट्र्याक्टर व्यवसायी तथा स्थानीय किसानबीच भएको छलफल र सहमतिपछि नयाँ दररेट कायम गरिएको हो।

वडा कार्यालयद्वारा जारी सूचनाअनुसार अब रोटाभेटरबाट जोताइ गर्दा प्रतिघण्टा २ हजार ६ सय रुपैयाँ र ट्याक्टर दार हलोबाट प्रतिघण्टा २ हजार ३ सय रुपैयाँ कायम गरिएको छ। उक्त दर मिति २०८२/२ /२६ गतेदेखि लागू हुने जनाइएको छ।

खेतीपातीका बेला जोताइ खर्चलाई लिएर किसान र व्यवसायीबीच बेलाबेलामा देखिने असमझदारीलाई मध्यनजर गर्दै वडा कार्यालयले दुवै पक्षलाई एकै ठाउँमा राखेर सहमतिको वातावरण तयार गरेको हो। वडाको समन्वयमा भएको सहमतिले किसानलाई आर्थिक भार कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

कृषि उत्पादन लागत घटाउने र किसानलाई समयमै खेतबारी तयारी गर्न सहज बनाउने उद्देश्यका साथ गरिएको यो पहललाई स्थानीयस्तरमा सकारात्मक रूपमा हेरिएको छ। किसान र व्यवसायी दुवै पक्षको सहमतिमा दर निर्धारण भएकाले आगामी दिनमा विवाद कम भई कृषि कार्य थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

वडा अध्यक्ष कृष्ण प्रसाद खरेलको नेतृत्वमा भएको यस पहलले स्थानीय सरकार किसानको हित र कृषि उत्पादन वृद्धिप्रति संवेदनशील रहेको सन्देश दिएको छ। कृषि क्षेत्रमा देखिने समस्यालाई संवाद र सहमतिमार्फत समाधान गर्ने वडाको प्रयासलाई स्थानीयले स्वागत गरेका छन्।

Leave a Reply