
मेचिनगर, झापा – त्रिदेव बहुमुखी क्याम्पसमा आउँदो चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा अनेरास्ववियु पक्षमा माहोल तातेको छ। क्याम्पसभित्र अनेरास्ववियु समर्थक विद्यार्थीहरू उत्साहित देखिएका छन् भने संगठनले आफ्नो उम्मेदवारहरूको पक्षमा व्यापक प्रचार गरिरहेको छ।
बिहीबार आयोजित विशेष सभामा अनेरास्ववियुका केन्द्रीय सदस्य रोशन लामाले अध्यक्ष पदका लागि ईश्वर रिजालको उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका हुन्। कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य तथा विद्यार्थी विभाग इन्चार्ज समर्पण खतिवडा, जिल्ला कमिटी सदस्य दुर्गा धमला, नेकपा एमाले मेचिनगर कमिटी अध्यक्ष राजु कार्की, युवा संघ नेपालका पदाधिकारीहरू तथा अनेरास्ववियुका नेताहरूको उपस्थिति रहेको थियो।

अनेरास्ववियुले यसपटक चुनावी नतिजा अघिल्लो कार्यकालभन्दा उल्ट्याउने रणनीति बनाएको छ। संगठनले क्याम्पसभित्र व्यापक जनसमर्थन रहेको दाबी गरेको छ। अध्यक्ष पदका उम्मेदवार ईश्वर रिजाल विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय छन्। क्याम्पसमा विद्यार्थी हकहितका मुद्दा उठाउँदै आएका रिजाललाई संगठनभित्र लोकप्रिय नेताका रूपमा हेरिन्छ। उनका अनुसार, “विद्यार्थीहरू परिवर्तन चाहन्छन्, र अनेरास्ववियु नै त्यस परिवर्तनको नेतृत्व गर्न तयार छ।”
अनेरास्ववियुका नेताहरूका अनुसार, संगठनले अघिल्लो चुनावमा भएका कमजोरीको समीक्षा गर्दै यसपटक सशक्त तयारी गरेको छ। संगठन विस्तार, विद्यार्थी परिचालन तथा प्रभावकारी चुनावी रणनीतिले अनेरास्ववियुलाई बलियो बनाएको छ।

चुनाव नजिकिँदै गर्दा अनेरास्ववियु समर्थक विद्यार्थीहरू क्याम्पसका विभिन्न क्षेत्र, कक्षा र समूहमा उम्मेदवारहरूको पक्षमा माहोल बनाउन सक्रिय छन्। क्याम्पसमा दिनहुँ बैठक, छलफल तथा प्रचारात्मक गतिविधिहरू भइरहेका छन्।
सामाजिक सञ्जालमा पनि अनेरास्ववियुका उम्मेदवारहरूको समर्थन तीव्र रूपमा बढिरहेको देखिन्छ। विद्यार्थीहरू संगठनका एजेन्डा प्रचार गर्दै मतदाता आकर्षित गर्न लागिपरेका छन्।
अनेरास्ववियुको घोषणापत्र : विद्यार्थीमैत्री योजनाहरू समेटिने
अनेरास्ववियुले यसपटक आफ्नो घोषणापत्रमा विद्यार्थीहरूको हकहित, शैक्षिक सुधार, सुविधासम्पन्न क्याम्पस निर्माण र आधुनिक प्रविधिको प्रयोग जस्ता महत्वपूर्ण विषय समेट्ने बताएको छ। संगठनले क्याम्पसलाई गुणस्तरीय शिक्षालयका रूपमा विकास गर्न विशेष योजना बनाएको दाबी गरेको छ।
अनेरास्ववियु पक्षमा बढ्दो समर्थन र विद्यार्थीहरूको उत्साह हेर्दा त्रिदेव क्याम्पसको यो स्ववियु चुनाव प्रतिस्पर्धात्मक मात्र नभई ऐतिहासिक समेत हुने देखिन्छ। अब उम्मेदवारी दर्ता प्रक्रिया सकिएपछि चुनावी समीकरण अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।