बिर्तामोड, झापा । रोट्रयाक्ट क्लब अफ बिर्तामोडको १४औँ पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम आइतबार बिर्तामोडमा सम्पन्न भएको छ। कार्यक्रममा वर्ष २०२५/२६ को कार्यसमितिले आफ्नो कार्यकाल सम्पन्न गर्दै नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको हो।

निवर्तमान अध्यक्ष सुशील थापाले अध्यक्षता गरेको कार्यक्रममा वर्ष २०२६/२७ का लागि श्रद्धा प्रसाईले क्लबको अध्यक्षको जिम्मेवारी सम्हालेकी छन्। साथै नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष थापाले आफ्नो नेतृत्वमा एक वर्षको अवधिमा शिक्षा, स्वास्थ्य, समाजसेवा, युवा नेतृत्व विकास तथा सामुदायिक हितका क्षेत्रमा सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरूको समीक्षा प्रस्तुत गरे। उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सहकार्य गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए।
नवनिर्वाचित अध्यक्ष श्रद्धा प्रसाईले क्लबको प्रतिष्ठालाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै युवालाई नेतृत्व विकासमा अग्रसर गराउने, समाजसेवालाई थप प्रभावकारी बनाउने र समुदायको आवश्यकताअनुसार नवीन कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरिन्। उनले सबै सदस्यको सहकार्य र एकताबाट क्लबलाई अझ सक्रिय र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन्।
कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का आरटीआर प्रकाश शर्माले युवाहरूको नेतृत्व विकास र सामाजिक उत्तरदायित्व प्रवर्द्धनमा रोट्रयाक्ट क्लबले खेलेको भूमिका प्रशंसनीय रहेको बताए। उनले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै समाज परिवर्तनका अभियानलाई अझ सशक्त बनाउन आग्रह गरे।
त्यसैगरी झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्का तथा रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष दीपक गिरीले पनि शुभकामना मन्तव्य राख्दै रोट्रयाक्ट क्लबले युवाहरूलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै सकारात्मक परिवर्तनको नेतृत्व गरिरहेको उल्लेख गरे।
कार्यक्रमको सञ्चालन सचिव रोशन दंगालले गरेका थिए भने स्वागत मन्तव्य रोशन शाही ठकुरीले व्यक्त गरेका थिए। एडीआरआर बाप्पा शाहाले प्रतिबद्धता मन्तव्य राखेको कार्यक्रममा जानभी खेडियाले धन्यवाद ज्ञापन गरेकी थिइन्।