झापा , बिर्तामोड / झापा कारागारका कैदीबन्दीहरूले भोटेकोशी बाढीपीडितका लागि ३ लाख ३३ हजार ३३३ रुपैयाँ राहत सहयोग प्रदान गरेका छन्।

शनिबार झापा कारागारमा आयोजित एक कार्यक्रमका बीच उक्त राहत रकम कारागारका आन्तरिक प्रशासन प्रमुख मनोज लावतीले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गरेका हुन्।
सोही अवसरमा ‘बन्दी स्मारिका’को विमोचन प्रजिअ पोखरेलले गरे। कार्यक्रमका प्रमुख अतिथि प्रजिअ पोखरेलले कैदीबन्दीहरूको यो कार्यको प्रशंसा गर्दै धन्यवाद दिए।
उनले आफूले पाउने गाँस र सुविधाबाट भाग काटेर बाढीपीडितलाई सहयोग पुर्याउनु ठूलो मानवीय कार्य भएको बताए। उनले कारागार जीवनलाई सुधारको अवसरका रूपमा लिन आग्रह गर्दै नियमित ध्यान र अध्ययन गर्नाले रिस तथा आवेग नियन्त्रण गर्न सहज हुने उल्लेख गरे।
साथै, बन्दीहरूलाई सीप सिक्न जरुरी रहेको औंल्याउँदै आवश्यक सीप पहिचान भएमा तालिमको व्यवस्था प्रशासनले मिलाउने प्रतिबद्धतासमेत उनले जनाए।
केही दिनअघि मात्र सरुवा भएर झापा आएका प्रमुख जिल्ला अधिकारी पोखरेललाई कैदीबन्दीका तर्फबाट सम्मान गरिएको छ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्का, झापा कारागार प्रमुख रेवन्त भट्टराईलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बन्दी विकास पुस्तकालयका सभापति मनोज लावतीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सोही पुस्तकालयका सचिव रमेश पोखरेलले गरेका थिए।