फिदिममा ट्राफिक सप्ताह २०८२को भव्य शुभारम्भ, प्रभातफेरीसहित जनचेतनामूलक कार्यक्रम

झापा असार ६ ।
कोशी प्रदेशभर एकैसाथ सुरु गरिएको ट्राफिक सप्ताह २०८२ अन्तर्गत फिदिम नगरपालिकामा प्रभातफेरीसहित कार्यक्रमको भव्य शुभारम्भ गरिएको छ।

मिति २०८२ असार ६ गते बिहान ७ बजेबाट फिदिम बजार क्षेत्रमा ट्राफिक सचेतनामूलक प्रभातफेरी निकालिएको थियो। त्यसपछि फिदिम नगरपालिका अन्तर्गत जिल्ला समन्वय समितिको सभाहलमा औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। त्यस्तै, उपप्रमुख राधाकृष्ण न्यौपाने, प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका कार्यालय प्रमुख प्र. ना. नी. डम्बर विक्रम दियाली, जिल्ला प्रहरी कार्यालय पाँचथरका निमित्त कार्यालय प्रमुख प्र.नि.रूपेश तामाङ लगायत अन्य सुरक्षा निकायका प्रतिनिधि, समाजसेवी, विद्यार्थी, शिक्षक तथा सञ्चारकर्मी गरी करिब २०० जनाको उपस्थिति रहेको थियो।

कार्यक्रममा ट्राफिक नियमसम्बन्धी जनचेतना, अनुशासनको महत्व, तथा सुरक्षित सवारीका विषयमा जानकारीमूलक छलफल र प्रस्तुति गरिएको थियो।


सप्ताहभर विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय पाचथर ले जानकारी दिएको छ।