बिर्तामोड । बक्सिङ खेलको विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रज्वल बिमलीको अध्यक्षतामा बिर्तामोड बक्सिङ समिति गठन गरिएको छ। बिर्तामोड बक्सिङ समितिको आयोजनामा आयोजित समिति गठन तथा नवनिर्वाचित पदाधिकारी परिचय कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेखर कडेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी नेपाल राष्ट्रिय बक्सिङ समितिका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा झापा जिल्ला बक्सिङ समितिका अध्यक्ष युवराज खड्कासहित अन्तर्राष्ट्रिय बक्सिङ खेलाडीहरू डम्बर लिम्बू, रिन्टुई हस्त र प्रेमसिंह दिमालको समेत उपस्थिति रहेको थियो।
नवगठित बिर्तामोड बक्सिङ समितिको अध्यक्षमा प्रज्वल बिमली, उपाध्यक्षमा नितेश बस्नेत, सचिवमा नसिब लिम्बू र कोषाध्यक्षमा भारती लिम्बू चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा सफिर राई, मनिस गुरुङ र राज भण्डारी रहनुभएको छ।
कार्यक्रमको सञ्चालन राज भण्डारीले गर्नुभएको थियो भने बिर्तामोड नगरपलिका वडा न ३ का अध्यक्ष तथा वक्सिङ संघ जिल्ला कमिटी सदस्य मदन बुढाथोकीले जानकारी दिनु भयो l
