नारायण गोपाल स्मृति प्रतिष्ठानको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा राज कुमार पोख्रेल चयन

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–३ स्थित नारायण गोपाल स्मृति प्रतिष्ठानको तेस्रो अधिवेशन तथा ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष मोहन सिवाकोटीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थाका प्रमुख सल्लाहकार उमानाथ ओली प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

अधिवेशनले आगामी तीन वर्षका लागि राजकुमार पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ नवगठित कार्यसमितिको उपाध्यक्षमा शिव खरेल, सचिवमा भीमकुमारी (भीमा) सिवाकोटी, सहसचिवमा टीका अधिकारी र कोषाध्यक्षमा निरज सिटौला चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा राजु चाम्लिङ, काजी बुढाथोकी, टीका भट्टराई नेपाल, केशव आचार्य, मोहन सिवाकोटी र डा. केशव न्यौपाने चयन हुनुभएको छ।

नवनिर्वाचित अध्यक्ष राजकुमार पोख्रेलले आफ्नो प्रतिबद्धता मन्तव्य राख्दै संस्थाको उद्देश्य, गरिमा र पहिचानलाई अझ उचाइमा पुर्‍याउन आफू प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले संस्थालाई थप सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउँदै सबैको साथ, सहयोग र सहकार्यमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नयाँ आउने कार्य समितिले संस्थाले विगतमा गर्दै आएका गतिविधिलाई निरन्तरता दिँदै आगामी दिनमा संस्थागत विकास, सामाजिक तथा सांस्कृतिक गतिविधि र संस्थाको उद्देश्य प्राप्तिका लागि नयाँ योजनासहित अघि बढ्ने अपेक्षा गरिएको छ।

अधिवेशन तथा साधारणसभाले संस्थाको आगामी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन गर्दै थप सक्रियताका साथ अघि बढ्ने आधार तयार गरेको छ।

Leave a Reply