Shares
भद्रपुर । झापा ११ फुटबल क्लब यहाँ जारी दोस्रो भद्रपुर झापा गोल्डकपको उपाधि नजिक पुगेको छ । डागा युनाइटेड भुटानलाई ३-१ गोलअन्तरले पराजित गर्दै झापा ११ फाइनल प्रवेश गरेको हो ।

मेची रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा झापा ११ का लागि एरोन थापा, रोहन कार्की र हरिबहादुर आलेमगरले गोल गरेका हुन् । भुटानका लागि सुरज रसाइलीको सान्त्वना गोल रह्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफमा खेलको नतिजा निस्किएको हो । खेलको ५५औँ मिनेटमा झापा ११ का लागि एरोन थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
तर, खेलको निर्धारित समय सकिन ४ मिनेट बाँकी रहँदा भुटानका सुरज रसाइलीले एकल प्रयासमा गोल गरेर कमब्याक गराएका थिए । थपिएको ५ मिनेटमा झापा ११ ले थप दुई गोल गर्यो ।
इन्जुरी समयमा रोहन कार्की र परिवर्तित खेलाडी हरिबहादुर आलेमगरले झापा ११ का लागि गोल गरेका हुन् । खेलको प्लेयर अफ दी म्याच एरोन थापा भए । उनले नगद २१ हजार पाए ।
झापा ११ को जितसँगै उपाधि भिडन्तमा आयोजक भद्रपुर ब्लेजर्स एफसीलाई प्रतिद्वन्द्वीको रुपमा पाएको छ । शुक्रबार हुने फाइनल खेलको विजेताले नगद १३ लाख र उपविजेताले ७ लाख रुपैयाँमा चित्त बुझाउनु पर्नेछ ।
प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने आयोजकले जनाएको छ ।