
वीरता जेसीज बिर्तामोडको ४४औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह आज बिर्तामोडमा सम्पन्न भएको छ।

सन् २०२४ का अध्यक्ष विकास बस्नेतले सन् २०२५ का अध्यक्ष युवराज कुँवरलाई आफूले लगाएको जेसीज चेन पहिराएर आफ्नो पद हस्तान्तरण गरेका थिए।

वीरता जेसीज बिर्तामोडको २०२५ को नयाँ नेतृत्वले पद हस्तान्तरणसंगै मङ्गलबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेको छ।
बिर्तामोडको बिर्ता पार्टी प्यालेसमा आयोजित भव्य समारोहका बीच सन् २०२५ का अध्यक्ष कुँवरसहित नवनिर्वाचित कार्यसमितिका पदाधिकारी-सदस्यले कार्यभार सम्हालेका हुन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच वीरता जेसीज बिर्तामोडका पूर्व अध्यक्षहरूले जेसी बस्नेतको गलामा रहेको जेसीज चेन खोलेर नवनिर्वाचित अध्यक्ष कुँवरको गलामा पहिर्याइदिएका थिए।
निर्वाचन समितिका आयुक्त तथा वीरता जेसीज बिर्तामोडका पूर्व अध्यक्ष घनश्याम चौधरीले निर्वाचित पदाधिकारीहरूको घोषणा गरेका थिए।
यसअघि सम्पन्न अधिवेशनबाट कार्यकारिणी उपाध्यक्षमा सुमन कुमार पोद्दार र प्रभात मास्के निर्वाचित भएका थिए भने जनसम्पर्क अधिकारी अभिषेक गहतराज, तालिम संयोजक सुशील थापा, संयुक्त सचिव सुवास त्रिखत्री, प्रकरण निर्देशक प्रज्वल बिमली तथा उपाध्यक्षहरू पुष्प भण्डारी, शुभम शाह, अजय चौधरी, अजय अधिकारी निर्वाचित भएका थिए।

त्यस्तै, नव निर्वाचित अध्यक्ष युवराज कुँवरले यस पद हस्तान्तरण कार्यक्रममा आफ्नो समितिलाई पूर्णता दिएका छन्। उनले महासचिवमा विज्ञान राज पौडेल, कोषाध्यक्षमा लोक चन्द्र श्रेष्ठ (एलसी), कानुनी सल्लाहकारमा अमरजीत शाह, सहकोषाध्यक्षमा बसन्त ढकाललाई मनोनीत गरेका छन्।
अध्यक्ष कुँवरले आफ्नो कार्यकालमा सबैसंग हातेमालो र सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यस्तै, समारोहमा मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कारबाट एभिन्यूज टेलिभिजनका झापा संवाददाता तथा साझा अनलाइन न्यूजका सम्पादक सन्तोष न्यौपाने र एपिवान टिभीका झापा संवाददाता विष्णु श्रेष्ठलाई नगदसहित पुरस्कृत गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि कृष्णप्रसाद सिटौला, विशिष्ट अतिथिहरू नेकपा माओवादी केन्द्रका कोशी प्रदेश प्रमुख हर्क ब. राई (मिक्सो), नेपाल जेसीज सन् २००८ का पूर्व राष्ट्रिय अध्यक्ष तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, बिर्तामोड नगरपालिका उपप्रमुख (कार्यवाहक नगर प्रमुख) नगेंद्र संग्रौला, पूर्व संविधानसभा सदस्य सुधीर कुमारी सिवाकोटी, नेपाली कांग्रेस जिल्ला सभापति देउमान थेवे, नेपाल जेसीज पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा वीरता जेसीज पूर्व अध्यक्ष विनोद बस्नेत, मेची आँखा अस्पतालका अध्यक्ष तथा नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष जल कुमार गुरुङलगायतको गरिमामय उपस्थिति थियो।
नेपाल जेसीज सन् २००८ का अध्यक्ष तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला र मातृ शाखा भद्रपुर जेसीजका अध्यक्ष शैलेश श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए।
त्यस्तै, वीरता जुनियर जेसीज वर्ष २०२५ को अध्यक्ष अश्विन गोसाईंको नेतृत्वमा निर्वाचित टिमले पनि सपथ ग्रहण गर्दै जिम्मेवारी सम्हालेको छ।