बिर्तामोड, फागुन २८– एभिन्यूज टेलिभिजनका झापा संवाददाता तथा साझा अनलाइन न्यूजका सम्पादक सन्तोष न्यौपाने वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। बिर्तामोडमा आयोजित वीरता जेसीज बिर्तामोडको ४४औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा उनलाई यो सम्मान प्रदान गरिएको हो।
पत्रकार न्यौपानेसँगै एपिवान टिभिका झापा संवाददाता विष्णु श्रेष्ठलाई पनि उक्त पुरस्कार प्रदान गरिएको थियो। पुरस्कार स्वरूप नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो। वीरता जेसीजले झापा क्षेत्रका उत्कृष्ट पत्रकारिता कार्यलाई सम्मान गर्न मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको हो।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधान एवं गृहमन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्य रहेको थियो। सो अवसरमा वीरता जेसीज बिर्तामोडको सन् २०२५ का लागि नवनिर्वाचित अध्यक्ष युवराज कुंवरले नेतृत्व ग्रहण गरेका छन्।
वीरता जेसीजले हरेक वर्ष विभिन्न क्षेत्रका उल्लेखनीय योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्ने परम्परा कायम राख्दै आएको छ। पत्रकारिता क्षेत्रका लागि यो सम्मान प्रेरणादायी हुने अपेक्षा गरिएको छ।