गारामनी क्याम्पसमा पहिलोपटक महिला नेतृत्व: सभापति, सचिव र कोषाध्यक्षसहित महिला टिमको अग्रसरता

गारामनी, झापा। गारामनी क्याम्पसमा यही चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि अनेरास्ववियुले महिला नेतृत्वको टोली अघि सरेको छ। झापाभरका क्याम्पसहरूमा एकमात्र महिला सभापति सहित सचिव, कोषाध्यक्ष तथा अधिकांश पदमा महिला उम्मेदवार रहेका कारण यो टोली विशेष रूपमा चासोको विषय बनेको छ।

बिमला गिरीको नेतृत्वमा अगाडि बढेको यो टिमले विद्यार्थी अधिकार, क्याम्पस पूर्वाधार सुधार, शैक्षिक गुणस्तर वृद्धिलगायतका मुख्य मुद्दाहरू अघि सारेको छ। विशेषगरी खानेपानी, शौचालय, सेनिटरी प्याडको व्यवस्थापन, क्याम्पसलाई आफ्नै भवनमा सार्ने तथा नयाँ संकाय थप्ने पहल गर्ने प्रतिबद्धता उम्मेदवारहरूले जनाएका छन्। साथै, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्ने उनीहरूको प्रमुख योजना रहेको छ।

स्ववियु अध्यक्ष पदमा बिमला गिरी उम्मेदवार बनेकी छन्। उनले क्याम्पस समृद्धि, विद्यार्थी सुविधा विस्तार तथा समावेशी नेतृत्वको महत्वबारे आफ्नो धारणा राख्दै विद्यार्थीको प्रतिनिधित्व गर्ने सशक्त नेतृत्व दिने प्रतिज्ञा गरेकी छिन्।

सचिव पदमा सुनिता सग्रौला उम्मेदवार बनेकी छन्। उनले महिला विद्यार्थीका समस्याहरूलाई प्राथमिकतामा राखी उनीहरूको सहभागिता र अवसर वृद्धि गर्न आफू लागिपर्ने बताएकी छिन्।

कोषाध्यक्ष पदमा अञ्जली मुर्मु उम्मेदवार बनेकी छन्। उनले क्याम्पसको आर्थिक पारदर्शिता, छात्रवृत्ति कार्यक्रमको प्रभावकारी कार्यान्वयन र विद्यार्थी सुविधाको व्यवस्थापनमा विशेष ध्यान दिने बताएकी छन्।

त्यस्तै, महिला सदस्यहरू र पुरुष सदस्य दावा तामाङ समेतको उम्मेदवारी रहेको यो टोलीले समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

स्ववियु निर्वाचनको मिति नजिकिँदै जाँदा गारामनी क्याम्पसमा महिला नेतृत्वको उम्मेदवारी थप चासोको विषय बनेको छ। विद्यार्थी माझ उनीहरूको प्रतिबद्धता र योजना लोकप्रिय बनिरहेका छन्। चुनावी सरगर्मी तीव्र बन्दै गएको छ भने यो पटकको निर्वाचन ऐतिहासिक बन्ने आँकलन गरिएको छ।