विराट बहुउद्देश्यीय सहकारी संस्थाद्वारा वित्तीय साक्षरता तथा सहकारी व्यवस्थापन तालिम सम्पन्न

विर्तामोड, चैत्र १० – विराट सामुदायिक सिकाइ केन्द्रको आयोजना र विराट बहुउद्देश्यीय सहकारी संस्था लि.को समन्वयमा दुई दिवसीय वित्तीय साक्षरता तथा सहकारी व्यवस्थापन तालिम सुरु भएको छ। तालिमको उद्घाटन पूर्व सांसद हरिचरण शिवाकोटीले गर्नु भएको थियो।

विराट बहुउद्देश्यीय सहकारी संस्था लि.का शिक्षा उपसमिति संयोजक नारायण शिवाकोटीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि हरिचरण शिवाकोटीले सहकारी व्यवस्थापनमा सदस्यहरूको भूमिका, संस्थाको दायित्व तथा सहकारीबारे फैलाइएका भ्रमहरूका विषयमा चर्चा गर्नुभयो। उहाँले सहकारी संस्थाहरूले आर्थिक समृद्धि र सामाजिक रुपान्तरणमा खेलेको भूमिकालाई अझ प्रभावकारी बनाउन कानुनी पालना गर्दै थप जवाफदेही हुनुपर्ने धारणा राख्नुभयो।

संस्थाका अध्यक्ष मोहन शिवाकोटीले संस्थाको उन्नति र दिगो विकासका लागि सदस्यहरूको भावना बुझ्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। कार्यक्रमका संयोजक तथा विराट बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक एवम् सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष रुद्र प्रसाद सिटौलाले सहभागीहरूलाई स्वागत गर्दै तालिमको औचित्यमाथि प्रकाश पार्नुभयो।

तालिमका प्रशिक्षक तथा निवृत्त राष्ट्रसेवक डिल्ली दाहालले संशोधित सहकारी ऐन, आर्थिक व्यवस्थापन, कर्जा लगानी प्रक्रिया, सदस्य र संस्थाबीचको अन्तरसम्बन्ध तथा वित्तीय साक्षरता जस्ता विषयमा प्रशिक्षण दिनुभएको थियो।

विराट बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा चैत्र १० र ११ गते सञ्चालन हुने तालिममा ६५ जना महिला र १० जना पुरुष गरी कुल ७५ जना सहभागी छन्। कार्यक्रमको सञ्चालन बीसीएलसीका कार्यक्रम संयोजक अर्जुन कुमार पाठकले गर्नुभएको थियो।