झापा, मंसिर २०।
देशको अर्थतन्त्र, राजनीति, शिक्षा र रोजगारीका विषयमा युवाको आवाज उच्च हुँदै गएको यो समयमा आर्थिक दिशानिर्देशनबारे राष्ट्रियस्तरको बहस पहिलोपटक झापामै सम्पन्न भएको छ। वीरता जेसीजको आयोजनामा सभामुख देबराज घिमिरेको प्रमुख आतिथ्यमा र युवराज कुँवरको अध्यक्षतामा कार्यक्रम भएको थियो l ‘संकटपछिको देशको अर्थतन्त्र : अवसर र चुनौती’ शीर्षकको कार्यक्रमले युवादेखि नीति-निर्मातासम्मलाई एकै मञ्चमा ल्याएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुकको आर्थिक अवस्था जटिल बन्दै गएको उल्लेख गरे। उनले भने, “राजश्व संकलन कमजोर हुँदा सरकार सामान्य खर्च धान्न पनि ऋणमा निर्भर बन्न बाध्य छ। निजी क्षेत्र लगानी गर्न हिच्किचाइरहेको र सुरक्षा ग्यारेन्टी कमजोर भएकै कारण आर्थिक गतिविधि सुस्त भएको छ।”
त्यस्तै, नबिल बैंकका कार्यकारी प्रमुख मनोज ज्ञवालीले राजनीतिक अस्थिरतालाई अर्थतन्त्र कमजोर हुनुको मुख्य कारण बताउँदै नकारात्मक सोचले नागरिकको आत्मविश्वास कम भइरहेको चिन्ता व्यक्त गरे।
औपचारिक सत्रपछि आयोजित राष्ट्रियस्तरीय प्यानल डिस्कसनमा पत्रकार राजेन्द्र वानियाको सहजीकरणमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले आधारभूत आर्थिक सूचक, मुलुकका वर्तमान चुनौती र तत्काल समाधानयोग्य क्षेत्रको गहन विश्लेषण प्रस्तुत गरे।

कार्यक्रममा सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र कुमार गिरी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूले मन्तव्य राखे। कार्यक्रमका संयोजक भुपेन्द्र भण्डारीले “झापा अब केवल औद्योगिक सम्भावनाको केन्द्र मात्र नभई राष्ट्रिय बहसको केन्द्रको रूपमा स्थापित हुँदैछ” भन्दै सहभागिताप्रति आभार व्यक्त गरे।
कार्यक्रममा वीरता जेसीजका कोषाध्यक्ष लोकचन्द्र श्रेष्ठ ‘एलसीले आस्थावाचन, खेलकुद संयोजक विवेक खड्काले ‘मिसन–भिजन’ प्रस्तुत गरे।

स्थानीय तह, सुरक्षा निकाय, व्यापारिक समुदाय, बैंक तथा उद्योग क्षेत्रका शीर्ष प्रतिनिधिसहित बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाई, अर्जुनधारा नगरपालिका प्रमुख बलदेव सिंह गोम्देन, सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाई, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, जेसीजका पूर्व अध्यक्ष, समाजसेवी तथा युवा व्यवसायीहरूको उल्लेख्य उपस्थिति रह्यो। सहभागीहरूको भनाइमा, यो आर्थिक संवाद झापामा हालसम्मकै सबैभन्दा व्यवस्थित, प्रभावकारी र गहन राष्ट्रिय बहसका रूपमा स्थापित भएको छ।
कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव विज्ञानराज पौडेलले गरेका थिए।