वैदेशिक रोजगारबाट फर्किएर उद्यम गर्दै बसनता राजवंशी

बिर्तामोड, झापा / वैदेशिक रोजगारीको अनुभव बटुलेर स्वदेशमै केही गर्ने दृढ संकल्पसहित बसनता राजवंशीले झापाको बिर्तामोड नगरपालिका–८ मा “RR Mobile Service” सञ्चालनमा ल्याएका छन्।

बिर्तामोड–७ निवासी राजवंशीले करिब १७ देखि १८ लाख रुपैयाँको लगानीमा यो आधुनिक मोबाइल सेवा केन्द्र स्थापना गरेका हुन्। बिर्तामोडको बजाज प्रवेशद्वार नजिकै मुख्य सडकको दाहिनेपट्टि अवस्थित यो पसलमा नयाँ र सेकेन्ड ह्यान्ड मोबाइल, मर्मत सेवा तथा सम्पूर्ण मोबाइल एक्सेसरीजका सामानहरू उपलब्ध छन्।

राजवंशीका अनुसार, वर्षौं विदेशमा श्रम गरेर आर्जित पूँजीलाई स्वदेशमै लगानी गर्दै उद्यम सुरु गरिएको हो। उनले भने, “देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छु। अब युवाहरूले विदेश जानुपर्दैन, आफ्नै गाउँ–सहरमै सम्भावना प्रशस्त छन्।”

उनका अनुसार RR Mobile Service ले गुणस्तरीय सेवा, उचित मूल्य र द्रुत मर्मत सुविधामार्फत ग्राहकको विश्वास जित्ने लक्ष्य लिएको छ। सुरु भएको छोटो अवधिमै ग्राहकको उल्लेख्य चहलपहल देखिनु व्यवसायप्रतिको विश्वासको संकेत भएको उनले बताए।

स्थानीय व्यवसायी र युवाहरूले राजवंशीको कदमलाई प्रेरणादायी उदाहरणका रूपमा लिएका छन्। वैदेशिक रोजगारीमा निर्भर हुनुभन्दा आफ्नै देशमा अवसर सिर्जना गर्ने साहसिक निर्णयले अन्य युवालाई पनि उद्यमशील बन्ने प्रेरणा दिएको उनीहरू बताउँछन्।