कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने: राष्ट्रिय परीक्षा बोर्ड

बिर्तामोड, वैशाख ६ — राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा तोकिएकै तालिकाअनुसार सञ्चालन हुने स्पष्ट पारेको छ।

हालै सामाजिक सञ्जालमार्फत शिक्षक आन्दोलनका कारण परीक्षा स्थगित भएको भन्ने भ्रामक सूचना फैलिएको भन्दै बोर्डले त्यसप्रति आपत्ति जनाउँदै विद्यार्थीहरूलाई भ्रममा नपरी तयारीमा जुट्न आग्रह गरेको छ।

बोर्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै परीक्षा स्थगित भएको भनेर सामाजिक सञ्जालमा प्रचारित गरिएको सूचना अनधिकृत भएको उल्लेख गरेको छ। यस्ता भ्रामक सूचना फैलाउनेलाई साइबर ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको जानकारी विज्ञप्तिमा दिइएको छ।

“परीक्षा जस्तो संवेदनशील विषयमा अनधिकृत रूपमा अध्यक्षको हस्ताक्षर राखेर सूचना सम्प्रेषण गर्नु गम्भीर अपराध हो,” बोर्डले जनाएको छ।

बोर्डले सहज र मर्यादित तरिकाले परीक्षा सञ्चालन गर्न अभिभावक, शिक्षक र विद्यालय प्रमुखहरूलाई आवश्यक समन्वय र सहकार्य गर्न अपिल पनि गरेको छ।

यस्तै, बोर्डले कुनैपनि सूचना केवल आफ्नो आधिकारिक वेबसाइटमार्फत हेर्न अनुरोध गर्दै अन्य श्रोतबाट आएको सूचनामा विश्वास नगर्न आग्रह गरेको छ।