२०८० जेठ ८
प्रेस चौतारी झापाले पत्रकारितामा नवीन प्रविधिको प्रभाव र संस्थाको भावी योजनासम्बन्धी विषयमा बुधवार एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। पत्रकारितामा न्यू मिडिया र डिजिटल प्रविधिको प्रयोगका साथै भावी कार्यदिशामाथि केन्द्रित प्रशिक्षण कार्यक्रम चौतारीको सभाहलमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामा, सचिव विक्रम लुइटेल, कोशी प्रदेश इन्चार्ज नुतन श्रेष्ठ लगायत शीर्ष नेतृत्व टोलीले प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रममा अध्यक्ष पाण्डेले चौतारीलाई सुदृढ, व्यावसायिक र प्रभावशाली पत्रकार संगठनको रूपमा स्थापित गर्ने उद्देश्यसहित यो वर्षलाई ‘प्रशिक्षण वर्ष’को रूपमा मनाइने जानकारी दिनुभयो। महासचिव लामाले सबै सदस्यको सीप र क्षमतामा वृद्धिका लागि निरन्तर तालिम आवश्यक रहेको बताउँदै, प्रशिक्षणमार्फत संस्था बलियो बनाउने योजना प्रस्तुत गर्नुभयो।

उपाध्यक्ष चेतन अधिकारीले न्यू मिडियाको प्रयोग तीव्र रुपमा फैलिँदै गएको उल्लेख गर्दै, त्यसबाट उत्पन्न चुनौती सामना गर्न सक्षम जनशक्तिको आवश्यकता औंल्याउनुभयो। कार्यक्रमका वक्ताहरूले स्थानीय सञ्चार क्षेत्रमा देखिएका समस्या र सम्भावनाबारे पनि धारणा राखेका थिए।
प्रेस काउन्सिल नेपालका पूर्व सदस्य गणेश पोखरेलले स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धनमा स्थानीय सरकारबाट पर्याप्त सहयोग नपाएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। त्यस्तै, केन्द्रीय सदस्य माधव विद्रोहीले झापा जिल्लाको सञ्चार क्षेत्रको पछिल्लो अवस्था प्रस्तुत गर्नुभयो।
प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले सदस्यहरूलाई संस्थाको भावी कार्यदिशा र योजनाबारे स्पष्ट जानकारी दिन उद्देश्यका साथ प्रशिक्षण आयोजना गरिएको बताए। सो अवसरमा झापा जिल्ला कमिटीद्वारा तयार पारिएको कार्ययोजना झापा इन्चार्ज मनकुमार गदालले केन्द्रीय महासचिव लामालाई हस्तान्तरण गर्नुभयो।
कार्यक्रमको सञ्चालन जिल्ला सचिव युवराज आचार्यले गर्नुभएको थियो भने उपाध्यक्ष राजु पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।