शिक्षक महासंघ र सरकारबीचको वार्ता सहमतिको विन्दुमा

काठमाडौं । शिक्षक महासंघ र सरकारबीचको वार्ता सहमतिको विन्दुमा पुगेको छ । मध्यरातमा भएको छलफल एकदमै सकारात्मक भएको शिक्षामन्त्री रघुजी पन्तले बताए । अब केही काम बाँकी रहेको र भोलि टुंग्याउने गरी अघि बढ्ने उनले सुनाए ।

‘वार्ता एकदमै सकारात्मक रूपमा अघि बढेको छ । यसलाई सकेसम्म एकदमै छिटो टुंग्याउने तयारीमा छौं’, मन्त्री पन्तले वार्तास्थलबाट भने । उनले १२ को परीक्षा पनि तोकिएकै मितिबाट सञ्चालन हुने बताए ।

वार्तास्थलमै रहेका एक अधिकारीका अनुसार आज सहमतिको ड्राफ्ट बनिसकेको छ । त्यसलाई आन्तरिक छलफल गर्ने भन्दै महासंघका नेताहरूले लिएर गएका छन् । भोलि अन्तिम रूप दिने तयारी छ ।

वार्ताबाट निस्किँदै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी पनि सकारात्मक सुनिए । उनले केही विषयमा छलफल भएको भन्दै केही आवश्यक रहेको बताए ।

‘संवादमै छौं । छलफल र संवादबाट निकास निस्किएपछि मात्र आन्दोलन रोकिन्छ’, सुवेदीले भने ।