वैशाख २८।
कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले शिवसताक्षी नगरपालिकाको खानेपानी संरचनाको आज स्थलगत अवलोकन गरेका छन्।

मन्त्री कार्कीले शिवसताक्षी–९ स्थित संगमचोकमा रहेको संगम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा निर्माण गरिएको ४ लाख ५० हजार लिटर क्षमताको पानी ट्यांकी लगायतका संरचना निरीक्षण गरेका हुन्।
समितिका अध्यक्ष धनबहादुर थेबेका अनुसार हाल योजनामा २ वटा पम्प बोरिङ, फिल्टर र कम्प्रेसर जडान गरिएका छन्। उपभोक्ताहरूका लागि हालसम्म १६० धारा जडान भइसकेको र आगामी दिनमा थप एक हजार ४०० धारा वितरणको तयारी भइरहेको जानकारी गराइएको छ।
अध्यक्ष थेबेले शुद्ध पानी आपूर्तिका लागि थप फिल्टर र अन्य उपकरण जडान गर्नुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री समक्ष त्यसका लागि सहयोगको आग्रहसमेत गरेका छन्।