काठमाडौंको मुटुमा निषेधित क्षेत्र: भिडभाड, प्रदर्शन पूर्ण बन्द

झापा, जेठ १६ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालयवरपरका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार एक सूचना जारी गर्दै भोलि शनिबारदेखि लागू हुने गरी असार २४ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेका हुन् ।

सूचनाअनुसार केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

निषेधित क्षेत्र तोकिएका स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन र सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले जनाएका छन् ।