१८ वर्ष मुनिका र गर्भवतीलाई सुर्ती सेवनमा रोक

झापा ।शिवसताक्षी नगरपालिकाले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै धूम्रपान तथा सुर्तीजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाएको छ।

नगरपालिकाले बुधबार सूचना जारी गर्दै शिक्षण संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र सार्वजनिक स्थलहरूको १०० मिटर भित्र यस्ता पदार्थ विक्री वितरण गर्न नपाइने जनाएको छ।

त्यसैगरी, १८ वर्षमुनिका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ सेवन तथा विक्री वितरण गर्न पूर्णतः निषेध गरिएको सूचनामा उल्लेख छ।

हाल नगरभित्र रहेका शैक्षिक क्षेत्रहरू वरपर सुर्तीजन्य पदार्थ विक्री भइरहेको पाइएकाले तत्काल हटाउन आग्रह गर्दै नगरपालिका प्रशासनले कडा निगरानी गर्ने चेतावनीसमेत दिएको छ।