झापा अदालतमा थपिए १० मेलमिलापकर्ता, प्रमुख न्यायाधीश लुईंटेलले गराए सपथ

झापा, असार १६ —
झापा जिल्ला अदालतमा मेलमिलाप प्रक्रियालाई थप सुदृढ बनाउने उद्देश्यसहित १० जना नयाँ मेलमिलापकर्ता थपिएका छन्। आज जिल्ला अदालतमा आयोजित एक समारोहमा प्रमुख न्यायाधीश उमेशप्रसाद लुईंटेलले उनीहरूलाई सपथ गराएका हुन्।

कार्यक्रममा बोल्दै प्रमुख न्यायाधीश लुईंटेलले वैकल्पिक तथा दिगो विवाद समाधानका लागि मेलमिलाप प्रक्रियाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले मेलमिलापकर्ताहरूले अनुशासन, निष्ठा र निष्पक्षताका साथ कार्य गरेमा यस प्रक्रियाले न्याय सम्पादनमा ठोस प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। “आज सूचीकृत भएपछि अब तपाईंहरूले इमान्दारी र अनुशासनपूर्वक कार्य गर्नुहुनेछ भन्ने अपेक्षा अदालतले लिएको छ,” उहाँको भनाइ थियो।

नयाँ मेलमिलापकर्ताहरू झापाका विभिन्न स्थानीय तहहरूबाट सिफारिस भई सूचीकृत भएका हुन्। सपथपछि मेलमिलापकर्ताहरूको तर्फबाट परमानन्द मिश्रले प्रतिवद्धता जनाउँदै आफूहरू अदालतको विश्वासअनुसार अनुशासनपूर्वक कार्यमा समर्पित हुने बताए।

सपथग्रहण समारोह अदालतका सूचना अधिकारी तथा प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो।

नयाँ मेलमिलापकर्ताहरू थपिएपछि हाल झापा जिल्ला अदालतमा सूचीकृत मेलमिलापकर्ताको संख्या ४५ पुगेको छ। अदालतमा हाल ८ जना न्यायाधीश कार्यरत छन्। अदालतले मुद्दाका पक्षहरूबीच जित–जित (win-win) आधारमा सहमति गराउन मेलमिलापलाई केन्द्रमा राख्दै आएको छ।

यसैबीच अदालतमा हाल स्वचालित पेशी प्रणाली लागू भइसकेको छ भने इजलास छनोटका लागि गोला प्रणाली अपनाइएको छ। मुद्दा दर्ता प्रक्रिया सफ्टवेयरमार्फत हुने व्यवस्था पनि कार्यान्वयनमा आएको अदालतले जनाएको छ।