बिर्तामोड, झापा —
‘लागुऔषध दुर्व्यसनमुक्त समाज निर्माणमा युवा र समाजको भूमिका’ भन्ने शीर्षकमा मंगलबार बिर्तामोडमा सम्पन्न जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा छात्राहरूले सबै शीर्ष स्थान ओगट्दै प्रभावशाली प्रदर्शन गरेका छन्।

प्रतियोगितामा झापाका १५ पालिकाबाट १४ छात्र र १५ छात्रासहित जम्मा २९ जना विद्यार्थी सहभागी भएका थिए। बिर्तामोडस्थित न्युटन्स एजुकेसन एकेडेमीको सभाहलमा सम्पन्न उक्त प्रतियोगितामा हिमज्योति अंग्रेजी बोर्डिङ स्कुल दमक–९ की शीतल कुँवर प्रथम भइन्। उनले नगद १० हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरिन्।
त्यस्तै, जयपुर बोर्डिङ स्कुल बुद्धशान्ति–२ की पुजन आचार्य दोस्रो हुँदै ७ हजार रुपैयाँ जितिन् भने इस्ट होराइजन अंग्रेजी मावि धुलाबारीकी रेजिना बन तेस्रो स्थानमा रहँदै ५ हजार रुपैयाँ प्राप्त गर्न सफल भइन्।
सान्त्वना पुरस्कार पाउनेमध्ये कमल गाउँपालिका–३ को निहारिका अंग्रेजी माविकी छात्रा जुनु दंगाल र बिर्तामोड नगरपालिका–२ को मोहनमाया माविकी छात्रा दिप्ती सुवेदी रहे, जसले जनही १ हजार ५ सय रुपैयाँ प्राप्त गरे।
कार्यक्रम जिल्ला प्रशासन कार्यालयको आयोजना, शिक्षा विकास समन्वय इकाइको समन्वय तथा हिसान, प्याब्सन र एन–प्याब्सनको सहकार्यमा सम्पन्न भएको हो। प्रतियोगिताको उद्देश्य लागुऔषध दुर्व्यसनबारे जनचेतना फैलाउने रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने, “लागुपदार्थको सेवन लुकाएर गरिने भएकाले यसको जोखिम अत्यधिक छ। यसबाट बच्न सबै तह–तप्काबाट पहल आवश्यक छ।”
प्रतियोगितामार्फत लागुऔषधमुक्त समाज निर्माणमा युवाहरूको सक्रियताको महत्वपूर्ण सन्देश प्रवाह भएको आयोजकको विश्वास छ।