झापा — झापाको बारदर्शी गाउँपालिका–५ मा कृषकहरूका लागि स्थापना गरिएको डिप ट्युबवेल सिँचाइ योजनाको समुद्घाटन गरिएको छ। कार्यक्रमको उद्घाटन कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले गर्नुभयो।

सूर्योदय जल उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य माननीय छवि चुडाल, स्थानीय समाजसेवी बेदराज रेग्मी, अनिल सापकोटा लगायतको उपस्थिति रहेको थियो।
करिब ६० लाख रुपैयाँ लागतमा स्थापना गरिएको उक्त डिप ट्युबवेल सिँचाइ योजनाबाट ६० बिघा जमिनमा सिँचाइ हुने अपेक्षा गरिएको छ। हालसम्म १,८०० मिटर लामो पाइप विस्तार सम्पन्न भइसकेको छ भने अन्य पाइप विस्तारको काम जारी रहेको जानकारी दिइएको छ।

यसअघि मन्त्री कार्कीले बारदर्शी–४ स्थित घाग्रा खोलाको तटबन्घ क्षेत्रको निरीक्षणसमेत गर्नुभएको थियो।
