झापा ,बिर्तामोड, १ साउन — बिर्तामोड नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पूर्जा (लालपुर्जा) वितरण कार्य औपचारिक रूपमा सुरु गरेको छ। बुधबार नगरपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन समारोहको अवसरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वडानम्बर ७ का तीन जनालाई प्रतीकात्मक रूपमा लालपुर्जा हस्तान्तरण गर्नुभयो।


लालपुर्जा प्राप्त गर्नेमा सूर्यमाला लिम्बु, मनकुमार सुव्वा र डिल्लीकुमार लिम्बु रहेका छन्। वडाध्यक्ष अबिरल कृष्ण खरेलका अनुसार वडा नम्बर ७ मा कुल ३४१ घरधुरी लालपुर्जाका हकदार छन् भने पहिलो चरणमा १०० जनालाई पूर्जा वितरण गरिनेछ। उनले दाबी–विरोधका लागि चाँडै सार्वजनिक सूचना जारी गरिने जानकारी गराए l
पुरानो ३५८ जनाको फाइल आइसकोको र छुटको सुचनामा पनी करिब १५ वट जति फाइल आएको वडा नम्बर ३ वडामा पनी अन्तिम चरणमा पुगेको अध्यक्ष मदन बुढाथोकीले जानकारी गराए l
बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले भूमिहीनलाई जग्गाको मालिक बनाउने अभियानलाई नगरपालिकाको उच्च प्राथमिकतामा राखिएको बताउँदै कानूनी प्रक्रिया पूरा गरी सबै वडामा जग्गाधनी प्रमाण–पूर्जा वितरण गरिने जानकारी दिनुभयो।
यसअघि नै बिर्तामोडमा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना भइसकेको छ र काम अगाडि बढिरहेको संयोजक विमल पोख्रेलले जानकारी दिनुभयो। उनका अनुसार वडा नम्बर १० मा आयोगले दाबी–विरोध सम्बन्धी सूचना प्रकाशित गरे पनि कुनै निवेदन प्राप्त भएको छैन।
नगरपालिकामा पहिलाको आयोगले संकलन गरेको तथ्यांक अनुसार २५८६ परिवार भूमिहीन दलित, सुकुम्बासी वा अव्यवस्थित बसोबासी छन्। पछिल्लो आयोगले निवेदन पुनः दर्ता गर्ने समय प्रदान गरेपछि यो संख्या अझै बढ्ने अनुमान गरिएको छ।
नगरपालिकाको यो कदमले दीर्घकालीन रूपमा भूमिहीन समुदायलाई आर्थिक, सामाजिक तथा कानूनी रूपमा सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
