३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस युएईमा पनि मनाईदै

झापा ,बिर्तामोड ,साउन- १९ / “सांविधान प्रदत्त अधिकार आदिवासीहरुको विषेश क्षेत्राधिकार, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तह लाई सरकारी कामकाजमा आदिवासी जनजातिको मातृ भाषा लागू गर ” भन्ने मुल नाराका साथ युएईमा पनि “३१औं अन्तरास्ट्रिय विश्व आदिवासी दिवस -२०२५” भव्यताका साथ मनाइदै छ ।

नेपाल आदिवासी जनजाती महासंघ युएई तथा आवद्ध ११ वटै जातिय समाजको संयुक्त आयोजनामा आगामी १० अगष्टका दिन युएईको दुबई सहरको क्ल्व SK7 को सभाहलमा सम्पन्न हुने कार्यक्रमको तयारी पूरा भएको नेफिन युएईका अध्यक्ष विक्रम लिम्बुले जानकारी दिए ।

“३१औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस -२०२५” को अवसरमा आयोजित उक्त कार्यक्रममा सबै आदिवासी जनजातिहरुको मौलिक संस्कृति झल्किने भेषभुषा सहितको झाँकी प्रस्तुत हुनेछ । साथै परम्परागत मौलिक संस्कृति झल्किने विभिन्न परिकार सहित विभिन्न सामाग्री सहितको स्टल समेत रहने जानकारी नेफिन युएईका महासचिव धनकृष्ण राई (डिके किराँती) ले जानकारी दिए ।

उक्त कार्यक्रममा आ-आफ्नो समाजलाई विषेश योगदान पुर्‍याए बापत हरेक मातृ संस्थाबाट एक महिला र एक पुरुषलाई सम्मान गरिनुका साथै मिस्टर एण्ड मिस इण्डिजिनियस प्रतियोगिताको समेत आयोजना हुनेछ । साथै सोही कार्यक्रममा नेफिन युएईको हालै सम्पन्न २०२५-०२७ कार्यकालको लागी सम्पन्न १० औं महाधिवेशन बाट चयन भएको नयाँ नेतृत्वको घोषणा समेत गरिने आयोजकले जानकारी दिएको छ ।

सन१९९४ डिसेम्बर २३ का दिन संयुक्त राष्ट्रसंघको साधारण सभाले ९ अगष्ट का दिन अन्तरास्ट्रिय आदिवासी दिवसका रुपमा मनाउने अवधारणा अगाडि बढाए अनुसार हरेक ९ अगष्टका दिन विश्व भरी यो दिवस मनाउदै आएको छ । तर वैदेशिक रोजगारमा रहेका नेपालिहरुले भने सार्वजनिक विदाको दिनलाई अनुकुल पारेर हरेक वर्ष यो कार्यक्रमको आयोजना गर्दै आएका छन । सोही अनुसार यो वर्ष युएईमा १० अगस्टका दिन मनाउन लागिएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ युएईमा हाल सम्म तमु समाज युएई, नेपाल मगर संघ शाखा युएई, तामाङ समाज युएई, किरात राई यायोख्या शाखा युएई, किरात याक्थुङ्ग चुम्लुङ्ग युएई, थारु कल्याणकारी सभा युएई, नेवा: पुचः युएई, शेर्पा किदुङ युएई, प्रवासी भुजेल समाज सेवा समिति युएई, सुनुवार सेवा समाज शाखा युएई , माझी समाज युएई आवद्ध छन । राजवंशी सेवा समाज युएई र आदिवासी युवा महासंघ युएई को सहकार्य रहने छ । सदा झैं यस वर्ष पनि प्रमुख मिडिया पार्टनारको रुपमा आदिवासी जनजाति पत्रकार महासंघ युएई रहेको छ ।